२८ श्रावण २०८३, बिहीबार
Follow Us

समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँः शेरबहादुर देउवा

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०८३, बिहीबार १०:०९

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको बताएका छन ।

सिंगापुरमा उपचार लागि गएको पाँच महिनापछि आज बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनले अपिलपत्र जारी गर्दै आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन । उनले आफू सेवकका रुपमा उपस्थित भएको पनि भनेका छन ।

‘आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु, सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन,’ उनले भने, ‘कृतज्ञताले परिपूर्ण हृदय र परिवर्तनका समीरलाई आत्मसात् गर्न तत्पर खुला चेतनासहित स्वास्थ्य उपचार सकेर म तपाईंहरूमाझ पाँच महिनापछि फर्किएको छु।’

स्वदेश फर्केपछि अपिल जारी
नेता देउवाले आजै एक अपिल जारी गर्दै आफूलाई हिमालका शिखर, पहाडका हरियाली र तराईका विशाल मैदानहरूले पुनः आफ्नै घरतर्फ बोलाएको उल्लेख गरेका छन्। उनले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री देउवाले कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौँको राजनीतिक सङ्घर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाउन सफल पार्टी भएको बताएका छन्।

“मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु। म स्पष्ट रूपमा भन्न चाहन्छु–कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ,” उनले भनेका छन्, “विश्व बदलिएको छ र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गर्छौँ। त्यसैले भौतिक पीडा सहँदासहँदै पनि गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा मैले त्यति बेलै राखेको थिएँ।”

उनले आफूले राजनीतिक रूपमा लिनुपर्ने केही नभएको तर आफ्नो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्ने र त्यो अनुभव नयाँ पुस्तासँग साझा गर्नु आफ्नो दायित्व भएको उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री देउवाले पार्टीका साथीहरू अहिले निराश अवस्थामा रहेको भन्दै उनीहरूको मनोबल बढाउने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नुपर्ने समय आएको बताएका छन्।

उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने समय आएको उद्घोष गरेको स्मरण गर्दै ४७ वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

“मैले सधैँ भन्ने गरेको छु, मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको छु,” उनले अपिलमा भनेका छन्, “कानुन र नीतिविपरीत कुनै काम गरेको छैन। मेरो जीवन खुला किताब हो। म प्रतिज्ञा गर्दछु, अझै जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन तथा नैतिक मूल्य–मान्यताअनुरूप काम गर्नेछु।”

धेरै पढिएको