६ भाद्र २०८३, शनिबार
Follow Us

सरकारलाई ओलीको चेतावनी– जनताले पाँच वर्ष मनलाग्दी गर्न लाइसेन्स दिएका होइनन्

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०८३, शनिबार १२:२३

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई जनताले पाँच वर्ष मनलाग्दी गर्ने लाइसेन्स नदिएको बताएका छन् । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कुवेतको पाँचौँ अधिवेशनलाई भर्चुअल सम्बोधन गर्दै ओलीले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

‘जनताले पाँच वर्ष जे पनि गर्न पाउने लाइसेन्स दिएका होइनन्,’ ओलीले भने, ‘सरकार संविधान र कानुनअनुसार चल्नुपर्छ ।’

उनले वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी बन्दै गएको आरोप लगाए। सरकार गठनसँगै गरिब, सुकुम्बासी, ट्रेड युनियन र कर्मचारीतन्त्रमाथि आक्रमण सुरु भएको उनको दाबी थियो ।

ओलीले सरकारको गतिविधिले लोकतन्त्र र कानुनी शासन कमजोर बनाएको आरोपसमेत लगाए । मुलुकलाई कानुनी शासनमा फर्काउन र लोकतन्त्र पुनर्स्थापित गर्न प्रतिगमनविरुद्ध संघर्ष आवश्यक रहेको उनको भनाइ थियो ।

गत वर्ष भदौ २३ र २४ गते भएका घटनाको प्रसंग निकाल्दै ओलीले त्यसक्रममा राज्यका तीनवटै अंग, राजनीतिक दलका नेता–कार्यकर्ताका घर तथा राजनीतिक योगदान गरेका नेतामाथि आक्रमण भएको दाबी गरे ।

उक्त घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि लज्जास्पद बनेको उनको टिप्पणी थियो ।

धेरै पढिएको