क्यान्सरलाई जित्न आत्मबल र समयमै उपचार आवश्यक : लन्डनमा सर्भाइभरका अनुभव साझा
लन्डन । क्यान्सरको पहिचानपछि निराश नभई समयमै उपचार, सकारात्मक सोच र परिवार तथा समाजको साथ लिएर अघि बढ्न सके रोगमाथि विजय हासिल गर्न सकिने सन्देश लन्डनमा आयोजित एक सचेतनामूलक कार्यक्रममा दिइएको छ। क्यान्सरलाई जीवनको अन्त्यका रूपमा मात्र हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिँदै रोग जितेका महिलाहरूले आफ्ना संघर्ष, उपचार र पुनः सामान्य जीवनमा फर्किएको अनुभव सुनाएका छन्।
लन्डनका व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेको अध्यक्षतामा शनिबार आयोजित ‘द पिंक अक्टोबर ब्रेस्ट क्यान्सर अवेरनेस’ कार्यक्रममा सहभागी महिलाहरूले समयमै उपचारसँगै आत्मविश्वास, पारिवारिक माया र सामाजिक सहयोगले कठिन परिस्थितिको सामना गर्न सहज हुने बताएका हुन्। कार्यक्रम ‘द लामिछाने फाउण्डेशन’ ले आयोजना गरेको हो।
हरेक अक्टोबरमा विश्वभर मनाइने ‘पिंक अक्टोबर’ स्तन क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने, समयमै रोग पहिचान गर्न प्रोत्साहित गर्ने तथा उपचार र अनुसन्धानको महत्त्वबारे जानकारी फैलाउने अन्तर्राष्ट्रिय अभियान हो।
उपचारसँगै सकारात्मक सोचले फर्कायो जीवनको लय
कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै सुस्मिता याक्सो कन्दङ्वाले १४ महिनाको उपचारपछि स्तन क्यान्सरलाई परास्त गरेर पुनः सामान्य जीवनमा फर्किएको बताइन्। चिकित्सकको निगरानीमा नियमित औषधि सेवन, शारीरिक अभ्यास, सकारात्मक सोच र परिवार तथा साथीभाइको सहयोगले आफूलाई कठिन समय पार गर्न मद्दत गरेको उनको भनाइ थियो।
क्यान्सरको खबर सुन्नासाथ निराश भएर घरभित्रै सीमित हुनुभन्दा आफ्नो अवस्थालाई स्वीकार गर्दै खुलेर कुरा गर्न र अरूलाई पनि सचेत बनाउन उनले आग्रह गरिन्। रोग लुकाउने वा डरमा बस्नेभन्दा आवश्यक उपचार खोज्नु र मनोबल कायम राख्नु महत्त्वपूर्ण हुने उनले बताइन्।
अर्की क्यान्सर सर्भाइभर क्रिस्टिनाले पनि स्तन क्यान्सरको सामना गर्दाका अनुभव साझा गरिन्। रोग पहिचान भएपछि आफ्ना सन्तानका कारण भावनात्मक रूपमा कठिन महसुस भएको उल्लेख गर्दै उनले आत्मबल र परिवारको मायाले आफूलाई अघि बढ्न सहयोग गरेको बताइन्। परिवारका सदस्यसँगै कार्यस्थलबाट समेत साथ र सहयोग पाउँदा उपचारको कठिनाइ सामना गर्न सहज भएको उनको अनुभव थियो।
रोग लुकाउनु होइन, सचेतना फैलाउनु आवश्यक
फाउण्डेशनकी महासचिव तथा ट्रस्टी लक्ष्मी (लारा) राईले गत अप्रिलमा आफूलाई स्तन क्यान्सर भएको पत्ता लागेको र हाल उपचार गरिरहेको जानकारी दिइन्। उपचारका क्रममा आवश्यक सावधानी अपनाउँदै नियमित काम, बिदा मनाउने तथा सामाजिक गतिविधिमा समेत सक्रिय रहिरहेको उनले बताइन्।
आफ्नो रोगबारे सामाजिक सञ्जालमार्फत खुलेर जानकारी गराउँदा देशविदेशबाट सयौँ व्यक्तिले स्वास्थ्यलाभको कामना गरेको स्मरण गर्दै उनले प्राप्त माया र हौसलाले उपचारप्रतिको विश्वास थप बलियो बनाएको बताइन्।
“यो रोग लुकाएर बस्नुभन्दा अरूलाई पनि सचेत गराउनु आवश्यक छ भन्ने सोचले सामाजिक सञ्जालमा आफ्नो अवस्था सार्वजनिक गरेँ। धेरैको माया र साथ पाएकी छु। यही हौसलाले क्यान्सरलाई परास्त गर्न सक्छु भन्ने विश्वास बढाएको छ,” उनले भनिन्।
स्वास्थ्य परीक्षणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह
कार्यक्रमकी प्रमुख अतिथि इलिङ सेन्ट्रल एन्ड एक्टन क्षेत्रकी सांसद रुपा हकले स्वास्थ्यसम्बन्धी समस्या लुकाएर नराख्न र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिन आग्रह गरिन्। शरीरमा असामान्य परिवर्तन वा असहजता महसुस भए तत्काल जनरल प्राक्टिसनर (जीपी) सँग सम्पर्क गर्नुपर्नेमा उनले जोड दिइन्।
बेलायतमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्दै उनले समुदायका सदस्यलाई समस्या परे सहयोगका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। क्यान्सरसम्बन्धी सचेतना फैलाउन फाउण्डेशनले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको उनको भनाइ थियो।
विशेष अतिथिका रूपमा सहभागी बेलायती सांसद तथा पूर्वमन्त्री किथ भाजले पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्न आग्रह गरे। व्यवसायी लामिछानेले बेलायत र नेपालबीचको सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानको चर्चा गर्दै उनले बेलायतको अर्थतन्त्रमा दक्षिण एसियाली मूलका व्यवसायीहरूको भूमिकालाई महत्त्वपूर्ण बताए। लामिछानेलाई उनले ‘काठमाडौंको स्टार’ का रूपमा समेत प्रशंसा गरेका थिए।
ट्रस्टी लारा राईले सञ्चालन गरेको कार्यक्रममा नेपलिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रस्मिता दर्लामी, कोपल्याण्ड केयर्सकी जनरल म्यानेजर बबिता लामा, क्रियटिभ्स फोर कल्चरकी शान्ति राई, द गोर्खा सेन्टरका हरि भण्डारी र माया आउटरिच क्यान्सर सपोर्टकी माला गुरुङले आआफ्नो संस्थाले क्यान्सरसम्बन्धी सचेतना र सहयोगका क्षेत्रमा गरिरहेका गतिविधिबारे जानकारी गराए।
उनीहरूले क्यान्सर प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग गर्न समुदायस्तरमा सचेतना, सहकार्य र भावनात्मक साथ आवश्यक रहेको उल्लेख गर्दै फाउण्डेशनको पहलको प्रशंसा गरे।
व्यवसायी महन्त श्रेष्ठ ‘ओबीई’ ले पनि समसामयिक र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सचेतनामूलक कार्यक्रम आयोजना गरेकोमा फाउण्डेशनलाई धन्यवाद दिए।
कार्यक्रमको अध्यक्षता गरेका लामिछानेले उपस्थित सांसद, अतिथि, सहभागी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे। यस्ता सामाजिक गतिविधिले आफूलाई आगामी दिनमा पनि समाजसेवामा सक्रिय रहन थप प्रेरणा मिलेको उनले बताए।
कार्यक्रममा फाउण्डेशनका तर्फबाट क्यान्सरलाई जितेका महिला तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
यसअघि फाउण्डेशनले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितका लागि करिब एक करोड सात लाख रुपैयाँ सहयोग गरेको थियो। जनस्वास्थ्यसम्बन्धी सचेतना र विपद्का बेला मानवीय सहयोगमार्फत समुदायसँग जोडिने प्रयासलाई संस्थाले निरन्तरता दिँदै आएको छ।

