डायस्पोरा

हर्क साम्पाङको पार्टीको बेलायत शाखा खुल्यो : आगामी नोभेम्बर १ मा पहिलो महाधिवेशन हुने

लन्डन — युकेमा नेपाली साझा सांस्कृतिक सम्पदा, श्रमको सम्मान, नैतिक शासन तथा सामुदायिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित ‘श्रम संस्कृति समाज’ (SSS UK) को औपचारिक शुभारम्भ तथा पहिलो पुस्ता महाधिवेशन (1st Gen. Convention) भव्य रूपमा आयोजना हुने भएको छ।

एक गैर-राजनीतिक, सामाजिक तथा स्वयंसेवी संस्थाको रूपमा सन् २०२६ मा स्थापना भएको यस संस्थाको ऐतिहासिक उद्घाटन तथा प्रथम महाधिवेशन आगामी नोभेम्बर १, २०२६ (आइतबार) का दिन अल्डरसटस्थित एम्पायर हल (Empire Hall, Aldershot, GU11 1DJ) मा हुने भएको छ।

उक्त उद्घाटन तथा महाधिवेशन कार्यक्रम आगामी सन् २०२६ नोभेम्बर १ तारिख आइतबारका दिन मध्याह्न १२:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म अल्डरसटस्थित एम्पायर हल (Empire Hall, Aldershot, GU11 1DJ) मा भव्य रूपमा सञ्चालन हुनेछ। कार्यक्रममा सहभागिताका लागि प्रतिव्यक्ति प्रवेश तथा प्रायोजन शुल्क £२० तोकिएको छ ।

युकेमा बसोबास गरिरहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने, श्रम संस्कृति र सांस्कृतिक मूल्य-मान्यतालाई प्रवर्द्धन गर्ने हेतुले यो सम्मेलन आयोजना गरिएको हो। कार्यक्रम स्थलका साथै अनलाइन लिङ्क (Google Form) मार्फत समेत फारम भरेर टिकट तथा संस्थाको सदस्यता प्राप्त गर्न सकिने विशेष व्यवस्था मिलाइएको छ।

कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नका लागि अभियन्ता श्रमदाता सन्तोष राई (०७४९०९३९६९६) र संयोजक श्रमदाता मनोज पुन (०७४९१९३७२८५) को नेतृत्वमा व्यवस्थापन टोली सक्रिय रूपमा खटिएको छ।

संस्थाका संयोजक श्रमदाता मनोज पुन तथा सिंगो आयोजक टिमले बेलायतवासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनी र नेपालका शुभचिन्तकहरूलाई यस ऐतिहासिक महाधिवेशनमा सक्रिय उपस्थिति जनाई कार्यक्रमलाई भव्य रूपमा सफल पारिदिनुहुन हार्दिक निमन्त्रणा तथा आह्वान गरेका छन्।

-भुमिराज राई

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता