एनपीएल : लुम्बिनी र सुदूरपश्चिम क्वालिफायर वनमा भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) ३ च्याम्पियनको धमिलो तस्बिर धेरै हदसम्म सफा भइसकेको छ । अब एनपिएलको तेस्रो विजेताको छिनोफानोका लागि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोज मात्र बाँकी रहेका छन् ।
एक दिनअघि आइतबार लिग चरण सकेको हो । लिग चरणमा उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लायन्सको प्रदर्शन सबभन्दा सानदार रह्यो । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले सात खेलमा पाँच जित, एक बराबरी र एक हारसहित सर्वाधिक ११ अङ्क बनायो । गत उपविजेता सुदूरपश्चिम रोयल्स १० अङ्कसहित दोस्रो स्थानमा रह्यो । काठमान्डु गोर्खाज आठ अङ्कसहित तेस्रो र चितवन राइनोज सात अङ्क बनाएर चौथो स्थानमा लिग टुङ्ग्याए ।
एनपिएलमा शीर्ष चार स्थानमा रहने टिमले प्लेअफ खेल्ने प्रावधान रहेको छ । त्यसैले शीर्ष दुई स्थानमा रहने गत विजेता लुम्बिनी लायन्स र गत उपविजेता सुदूरपश्चिम रोयल्सले मङ्गलबार पहिलो क्वालिफायर खेल्न लागेको हो । सो खेल जित्ने टिम सिधै फाइनलमा पुग्ने छ भने हार्ने टिमसमक्ष दोस्रो क्वालिफायरमार्फत उपाधि भिडन्तमा पुग्ने अर्को अवसर हुने छ । काठमान्डु र चितवनबिच बुधबार इलिमिनेटर हुने छ । सो खेलमा जित्ने टिमले बिहीबार पहिलो क्वालिफायरमा हार्ने टिमसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छ । फाइनल आगामी शनिबार हुने छ ।
लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच हुने क्वालिफायर वन पछिल्लो संस्करणको फाइनल र चालु प्रतियोगिताको उद्घाटन खेलको पुनरावृत्ति पनि हो । पछिल्ला दुवै खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई नराम्ररी हराएको थियो । लुम्बिनी र सुदूरपश्चिम एनपिएलमा हेभिवेटको छवि बनाइसकेका टिम हुन् । यसै गरी पछिल्लो संस्करणमा च्याम्पियन बनेपछि लुम्बिनी लायन्सले उपाधि रक्षा अभियानमा मात्र एक खेल हारेको छ । त्यसैले लिग चरण र पछिल्ला दुई खेलमा सुदूरपश्चिमविरुद्धको प्रदर्शनले लुम्बिनी लायन्स केही फाइदामा देखिन्छ तर सुदूरपश्चिम रोयल्सको टिममा लुम्बिनीविरुद्ध बदला लिने क्षमता उत्तिकै छ । सुदूरपश्चिम रोयल्स पछिल्ला दुई सत्रमा लिग चरणमा शीर्ष र यस पटक दोस्रो स्थानमा रहेको टिम हो ।
यद्यपि सुदूरपश्चिमले यसपालि राम्रो सुरुवातका लागि सङ्घर्ष गरिरहेको छ । लुम्बिनीविरुद्धको खेलमा सुदूरपश्चिमका लागि शीर्ष क्रममा ठुलो साझेदारीको आवश्यकता रहने छ । लुम्बिनीलाई पनि ठोस सुरुवात जरुरी हुने छ । बलिङमा भने लुम्बिनी लायन्सको पल्ला भारी देखिन्छ । यस प्रतियोगितामा लुम्बिनी लायन्सका बलरले विपक्षी टिमलाई खुलेर रन बनाउन दिएका छैनन् । क्वालिफायर वनमा लुम्बिनीका कप्तान रोहित र पछिल्लो संस्करणका सर्वश्रेष्ठ खेलाडी रुवेन ट्रम्पलम्यान तथा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र बलिङ अलराउन्डर स्कट कुग्लाइन हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ ।

