८ भाद्र २०८२, आईतवार
Follow Us

पाल्पाका सात युवा कृषक सम्मानित

nepalbritain news
२१ असार २०७५, बिहीबार ०६:३५

पाल्पा – कृषि र पशुपालन क्षेत्रमा लागेर नमूना काम गर्ने पाल्पा जिल्लाका सातजना युवा सम्मानित भएका छन् ।

जिल्ला युवा समिति, पाल्पाले युवा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत कृषि तथा पशुपालन क्षेत्रमा नमूना युवा किसानलाई नगद, प्रमाणपत्रसहित दोसल्लाले सम्मान गरिएको समितिका अध्यक्ष रामजी पोखरेलले जानकारी दिनुभयो ।

सम्मानित हुनेमा तानसेन–१४ की गाईपालन गर्ने पवित्रा गैरे, तानसेन–१२ का गाईपालन गर्ने रुकवीर रेस्मी, बगनासकाली गाउँपालिका यम्घाका ओमप्रसाद बस्याल, रामपुरका ऋषि पोखरेल, बगनासकालीका पदम बहादुर कनौजे, रैनादेवी छहरा गाउँपालिकास्थित सिद्देश्वरका सुदर्शन पन्त, रिङगनेरहका वासुदेव न्यौपाने रहेका छन् ।

सम्मानित हुनेलाई प्रदेश नम्बर ५ का सांसद तथा नेकपाका नेता अध्यक्ष नारायणप्रसाद आचार्यले नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो । सांसद आचार्यले योजनाबद्ध रुपमा काम नगरेकाले हामी पछाडि परेकाले अब योजनाबद्ध रुपमा काम गरी राम्रा गर्न सकिने बताउनुभयो । उहाँले सम्मानितबाट हामीले धेरै पाठ सिकेर रोजगार र स्वरोजागरका अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सांसद पुरन बज्राचार्यले विदेशमा श्रम र पसिना पोखेर बढीमा रु ४० हजार आम्दानी हुने भएकाले स्वदेशमा श्रम खर्चिएमा राम्रो सम्भावना रहेको बताउनुभयो । उहाँले नेपाली युवाले नेपालमा सम्भावना खोज्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, प्रजिअ विष्णुप्रसाद ढकाल, वरिष्ठ पत्रकार मेघराज शर्मालगायतले सम्मानित हुनेलाई शुभकामना दिनुभयो ।

सम्मानित हुनेले पूर्वलडाकु तथा गाईपालन गर्ने पवित्रा गैरे, मिर्चा खेती गर्ने सुदर्शन पन्त, गाईपालन गर्ने रुकवीर रेश्मीले आफूहरुलाई अनुदानभन्दा पनि लगानीको आवश्यकता रहेको बताउनुभयो ।

कृषि र पशुपालन क्षेत्रमा युवा पुस्ताको प्रवेशसँगै तरकारी, दूध, अण्डा र कुखुराको मासुमा पाल्पा जिल्ला आत्मनिर्भर बन्न सफल भएको हो । कृषि र पशुपालन क्षेत्रमा ठूलो संख्यामा युवा स्वरोजगार बन्न सफल भएको देखिन्छ ।
रासस

धेरै पढिएको