१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पद्मरत्नको भीमरथारोहण भदौ १७ गते गरिने

sarusaru
१ भाद्र २०७५, शुक्रबार ०३:०९

काठमाडाँै – मानव अधिकार, जाति भाषा समानता, नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका सूत्रधार पद्मरत्न तुलाधरको भीमरथारोहण (ज्याःजंक्व) विविध कार्यक्रमका साथ आउँदो भदौ १७ गते मनाइने भएको छ ।
तुलाधरको भीमरथारोहणबारे भइरहेको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक लक्ष्मीदास मानन्धरले समितिको आग्रहमा भोलिदेखि नै विभिन्न गोष्ठीलगायतका कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो ।
नागरिक अभिनन्दनको मूल कार्यक्रम भदौ ३० गते शनिबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना गरिने छ ।
यस अतिरिक्त नेपालको मानव अधिकार आन्दोलन, पत्रकारिता र शान्ति प्रक्रियामा तुलाधरको भूमिका र योगदानबारे गोष्ठी तथा परिचर्चा कार्यक्रमको आयोजना गरिने छ । त्यसैगरी, नेपाल संवत् आन्दोलन, आदिवासी जनजाति आन्दोलन र नेवाः आन्दोलनमा उहाँको योगदानका विषयमा विचार गोष्ठी गरिनेछ भने उहाँको साहित्यिक व्यक्तित्वबारे पनि छलफल कार्यक्रम गरिने छ । सोही अवसरमा नगर सफाइ र रक्तदान कार्यक्रम पनि गरिने मूल समारोह समितिले जनाएको छ ।
नेवार समाजमा कुनै व्यक्तिको ७७ वर्ष ७ महिना ७ दिनका अवसरमा गरिने एउटा अत्यन्त महत्वपूर्ण धार्मिक सांस्कृतिक संस्कार ज्याःजंक्व हो । तुलाधरको धार्मिक विधिअनुसार ज्याःजंक्व गरिने कार्यक्रम रहेको छ ।
भीमरथारोहण मनाउने सिलसिलामा आयोजना गरिने सबै कार्यक्रमहरूको संयोजन गर्न उद्योग व्यवसायी एवं समाजसेवी लक्ष्मीदास मानन्धरको अध्यक्षतामा ‘पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समिति’ गठन गरिएको छ । उक्त समितिको मूल अंगको रुपमा एउटा संरक्षक समिति पनि गठन गरिएको छ । उक्त संरक्षक समितिमा जनकवि दुर्गालाल श्रेष्ठ, भृगुराम श्रेष्ठ, मल्ल के. सुन्दर, नरेशवीर शाक्य र गणेश साय्मि सदस्य रहनुभएको छ ।
रासस