१५ बैशाख २०८१, शनिबार
Follow Us

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकामा आपत्ति

नेपालब्रिटेन डट कम्
२३ माघ २०७५, बुधबार १४:५२

पोखरा– पोखरा उद्योग वाणिज्य सङ्घले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकामा आपत्ति जनाएका छन् । सङ्घले आज विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो सङ्संस्थासँग सहकार्य गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सङ्घद्वारा जारी विज्ञप्तिमा ब्याजदरमा भएको अत्याधिक वृद्धिले उद्योग÷व्यवसायमा लागत वृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग व्यवसायबाट हातै धुनुपर्ने स्थिति सिर्जना भएको उल्लेख गरिएको छ ।
“ऋणको ब्याजमा वृद्धि हुँदा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत मात्र बढेको छैन, नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ”, सङ्घका अध्यक्ष दामु अधिकारीद्वरा जारी विज्ञप्तिमा भनिएको छ “ब्याजदर वृद्धिले नागरिकको दैनिक जीवनमा थप व्ययभारको अवस्थासमेत आएको छ । ” व्यापार÷व्यवसाय गर्दा ५ देखि ७ प्रतिशत मुनाफा कमाउन पनि मुश्किल हुने तर त्यही पूँजी बैंक वा वित्तीय संस्थामा राख्दा १२ प्रतिशतसम्म ब्याज पाइने अवस्था सिर्जना हुनु अर्थतन्त्रका लागि गम्भीर विषय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घ बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा भएको समस्याबारे अन्तरक्रियासमेत आयोजना गरेको थियो । कार्यक्रममा व्यवसायीले ब्याजदर बढ्दा व्यवसाय गर्न कठिन छ भन्दै ब्याजदर नघटे आन्दोलनको विकल्प नभएको बताएका थिए ।