नयाँ दिल्ली । जम्मू कश्मीरको पुलवामा आक्रमणपछि तनावपूर्ण सम्बन्ध रहेका बेला भारत र पाकिस्तानबीच बिहीबार वार्ता भएको छ । यो वार्तालाई दुईदेश स्तरीय वार्ता नभनिए पनि सीमा क्षेत्रमा गोली हानाहान भइरहेका बेला भारतको अमृतसरमा दुईदेशका प्रतिनिधिबीच भएको कुराकानीलाई महत्वपूर्ण मानिएको छ ।
करतारपुर करिडोरका विषयमा बिहीबार अटारी सीमामा दुईदेशका अधिकारीबीत वार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो एक प्रकारको धार्मिक वार्ता हो ।
वार्ताक्रममा भारतले करतारपुरस्थित शिख धर्मालम्बीहरुको पवित्र स्थलमा जानका लागि पाकिस्तानले भिजा प्रक्रियामा सहजा गर्नुपर्ने प्रस्ताव राखेको छ । पाकिस्तानमा रहेको सो शिख धर्मावलम्बीहरुको पवित्र स्थलमा भारतीय शिखहरुलाई सहज प्रवेशका लागि भारतले प्रस्ताव राखेको जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयले यो वार्ता श्रद्धा र सुविधाका लागिमात्र भएको भन्दै कुनै कुटनीतिक वार्ता नभएको जनाएको छ । तर, पनि सीमामा गोली चलिरहेका बेला भएको यो वार्ताले दुईदेशलाई शान्ति वार्तामा फर्काउन सहयोगी बन्ने विश्लेषण गरिएको छ ।
आगामी वैठक २ अप्रिलमा बाघा सीमामा हुनेछ । भारतीय गृहमन्त्रालयका अधिकारीहरुले यो वार्तामा विना भिजा प्रवेशको प्रस्ताव भारतले राखेको बताएका छन् । तर, पाकिस्तानी पक्षबाट यसबारे के प्रतिक्रिया आयो भन्ने विषयमा भने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छैनन् ।
वार्ताका क्रममा पाकिस्तानी उप उच्च आयुक्त हैदर शाहले करतारपुर करिडोर खुला गर्न चाहेको बताए । उनले भारतीय शिखहरु पाकिस्तान पुग्न सजिलो बनाउन यो करिडोर खुला गर्नुपर्ने बताए ।
गएको नोभेम्बरमा पाकिस्तान र भारतले आ आफ्नोतर्फ करिडोर निर्माणको शिलान्यास गरेका सथए ।