२९ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेशसभा सदस्य खतिवडाद्वारा क्याम्पसलाई एक महिनाको तलब सहयोग

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७५, आईतवार १७:०३

काठमाडौं– प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले आइतबार नुवाकोटको तारकेश्वर गाउँपालिका २ स्थित तारुका श्री कृष्ण क्याम्पस र श्रीकृष्ण माविलाई आर्थिक सहयोग गरेका छन् ।
क्याम्पसको लागि जग्गा खरिद तथा भवन निर्माण र कृष्ण माविमा आइसीटी कक्षा सञ्चालन गर्ने उद्देश्यले शनिबारदेखि आयोजित श्रीमदभागवत सप्ताह महायज्ञमा सहभागि हुन पुगेका खतिवडाले आफ्नो एक महिनाको तलब बराबरको ५० हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले क्याम्पसको स्तरोन्नति र शैक्षिक गुणस्तर वृद्धिका लागि प्रदेश सरकारको तर्फबाट २५ लाख बजेट विनियोजन गराउने पनि सो क्रममा प्रतिबद्धता जनाए ।
सो क्रममा बोल्दै खतिवडाले आर्थिक समृद्धिका लागि शैक्षिक क्षेत्रको विकास जरुरी रहेको भन्दै त्यसका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गरिने र केन्द्र सरकार पनि यसमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।

महायज्ञ प्रचारप्रसार समितिका संयोजक राजेन्द्र न्यौपानेका अनुसार दुई दिनको बीचमा ३३ लाख ४४ हजार ३२९ संकलन भएको छ । जसमा केही रकम प्राप्त भइसकेको र केही रकम प्रतिबद्धताअनुसार भुक्तानी हुने क्रममा रहेको न्यौपानेको भनाइ छ ।
उनका अनुसार आइतबारमात्रै प्रदेशसभा सदस्य खतिवडाबाहेक वडा नम्बर २ का अध्यक्ष समर बहादुर आलेले ७५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् भने क्याम्पस प्रमुख भरत सिग्देलले समेत आमा रमादेवीको तर्फबाट ५१हजार १९९ रुपैयाँ सहयोग गरेका छन् । यस्तै मीन कुमारी अधिकारी बाट ९ हजार ९००, कुल प्रसाद अधिकारी बाट १४हजार ३०० सहित दर्जनौ दाताले सहयोग गरेका छन् ।
स्थानीय र अन्य दाताबाट करिव १ करोड बढी संकलन गर्ने लक्ष्य लिइएको महायज्ञमा कथाबाचन पण्डित उत्तम भट्टले गरेका छन् ।