२० बैशाख २०८१, बिहीबार
Follow Us

चिनियाँ नागरिक बिरुद्ध काठमाण्डौंमा प्रहरीले गरेको त्यो ‘चार्ली फोस्टर’ अपरेसन !

नेपालब्रिटेन डट कम्
९ पुष २०७६, बुधबार १३:५१

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा ठूलो संख्यामा पक्राउ परेका चिनियाँ नागरिकहरुले व्यवस्थित रुपमा होस्टलसहितको कार्यालय नै स्थापना गरेर बसेका थिए । प्रहरीले गत पुस ७ गते एकैपटक काठमाडौंका फरक फरक ठाउँमा ९ घरमा छापा मारेर १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो । सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाहीका अनुसार उनीहरु बस्ने घरमा सुरक्षा व्यवथा कडा थियो र विशेष कार्ड देखाएर मात्र भित्र प्रवेश गर्न पाइन्थ्यो ।

उनीहरुले एउटा ८ तलाको घर नै भाडामा लिएर बसेका थिए । ठूलो रकम भाडा तिरेर बसेका उनीहरुले मेसमा खाना खाने ठूलो किचन, महिला पुरुषका लागि छुट्टाछुट्टै होस्टेल र काम गर्नको लागि व्यवस्थित टेबुल कुर्सीसहितको कार्यस्थल बनाएका थिए । प्रहरीले छापा मार्दा पनि उनीहरु सबै कम्प्युटरमा व्यस्त भेटिएका थिए । उनीहरुँग ठूलो परिमाणमा मोवाइल फोन, ल्यापटप, टेस्कटप कम्प्युटर तथा सिमकार्डजस्ता इन्टरनेट र ह्याकिङमा प्रयोग हुने उपकरणहरु बरामद भएका छन् ।

यी चिनिया नागरिकलाई चीन प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा संचालन गरेको अपरेशन अन्तर्गत पक्राउ गरिएको थियो । डिआइजी शाहीका अनुसार इन्टरपोलको चीनको नेशनल सेन्ट्रल ब्यूरो र नेपालको नेशनल सेन्ट्रल ब्यूरोको सूचना र आग्रहका आधारमा सिआइबीले यो अपरेशनको नेतृत्व गरेको थियो । यो अपरेसनलाई ‘चार्ली फोस्टर’ नाम दिइएको व्युरोका डिआइजी निरज शाहीले जानकारी दिए ।

उनीहरुले विच्याट मार्फत् धनी तथा व्यवसायीहरुलाई ठग्दै आएका थिए । फेक वेबसाइट बनाएर रकम हाल्दा बढ्ने स्किम चलाउँदै ठगी धन्दा गरेको अनुसन्धानमा खुलेको छ । पुरुषले महिला र महिलाले पुरुषलाई लक्षित गर्दै उनीहरुले सामाजिक सञ्जालबाट ठगी गर्दै आएको देखिएको हो । सुरुमा रकम हाल्दा बढाइदिने र पछि थप रकम हाल्न लगाउँदै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पक्राउ परेका १ सय २० जनालाई हिजोमात्र ५ दिने म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धानको अनुमति दिएको हो । शाहीका अनुसार उनीहरु १ सय ५० दिनको पर्यटक भिसामा नेपाल आएको देखिएको छ । प्रहरीले ६७ जनाको राहदानी जफत गरेको छ । बाँकीको राहदानी फेला परिसकेको छैन । प्रहरीले आज उनीहरुबाट जफत सामग्रीसमेत सार्वजनिक गरेको छ ।

७ सय ४६ वटा मोबाइल फोनको सेट, ३ सय ३१ वटा ल्यापटप, ९८ वडा डेस्कटप सिपियू, ९९ वडा मनिटर र ३ सय २७ वटा सिमकार्ड उनीहरुबाट जफत भएको छ । चिनियाँ भाषामा दक्षता नहुँदा प्रहरीलाई अनुसन्धानमा कठिनाइ भइरहेको छ । पक्राउ परेका चिनियाँ महिलाहरुले प्रहरीलाई नै दुर्व्यवहार गर्न खोजेपछि उनीहरुलाई गाली बेइज्जती मुद्दा लगाइएको प्रहरीले जनाएको छ । उनीहरुबाट बरामद भएका सिमकार्ड एनसेल र स्मार्ट सेलका भएको प्रहरीले जनाएको छ ।