२२ बैशाख २०८१, शनिबार
Follow Us

मदिरा सेवनबाट मृत्यु भएका पीडित परिवारलाई प्रदेश सरकारको ३ लाख रुपैयाँ

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७६, सोमबार ०५:१३

जनकपुर । धनुषाको क्षीरेश्वरनाथमा अवैध मदिरा सेवन गरी मृत्यु भएका परिवारलाई दुई नम्बर प्रदेश सरकारले राहत रकम उपलब्ध गराउने भएको छ । आज विहान बसेको प्रदेश मन्त्रीपरिषद बैठकले मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा अवैधरुपमा उत्पादन गरेको विषादीयुक्त मदिराको सेवनवाट ज्यान गुमाएका परिवारलाई प्रदेशले तत्कालै सो रकम उपलब्ध गराउने भएको हो । राहत रकम स्थानीय तह र प्रहरीको प्रतिवेदनका आधारमा उपलब्ध गराइने बताइएको छ ।

प्रदेश सरकारले मदिरामुक्त प्रदेश अभियान समेत सञ्चालन गर्ने जनाएको छ । होली मनाउने क्रममा पिएको विषाक्त घरेलु मदिरा सेवनबाट धनु्षामा १८ जनाको मृत्यु भइसकेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–१ र २ रमदैया टोलमा १३ र जनकपुरधाम उपमहानगरपालिका–७ मुसहरी टोलमा चार र लक्ष्मीनिया गाउँपालिका–६ मा एक गरी १८ जनाको मृत्यु भएको हो ।