२५ बैशाख २०८१, मंगलवार
Follow Us

को को छन् कोरोना संक्रमण नियन्त्रण कोषमा सहयोग गर्ने मनकारी नेपाली ?

नेपालब्रिटेन डट कम्
११ चैत्र २०७६, मंगलवार ०५:४६

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले ५० करोडको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेसँगै विभिन्न क्षेत्रबाट रकम जम्मा हुन सुरु भएको छ। मन्त्रिमण्डलका सदस्यले एक–एक महिनाको तलब राख्ने घोषणा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कोषमा सघाउन आह्वान गरेपछि उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्था, सांसद, गैरआवासीय नेपाली, विभिन्न सामाजिक संघसंस्थाले सहयोग गर्न सुरु गरेका छन्। विभिन्न निकायले कोष खडा गरेर सरकारलाई सहयोग गर्न थालनी गरेका छन्।

कोरोना संक्रमण महामारीविरुद्ध लड्न, उपचारमा सघाउन, आवश्यकताअनुसार उपकरण तथा औषधियुक्त सामग्री खरिद गर्न सरकारले कोष स्थापना गरेको थियो। कोषमा ग्लोबल आइंकले एक करोड १५ लाख रुपैयाँ राख्ने भएको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सहयोग गरेको बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बताए।

कोषमा गैरआवासीय नेपाली संघ, ग्लोबल आइएमई ग्रुप, व्यवसायी वसन्त चौधरी, नेपाल बैंकले एक–एक करोड रुपैयाँ सघाउने घोषणा गरेका छन्। प्रधानमन्त्री राहत कोषमार्फत एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको गैरआवासीय संघका महासचिव हेमराज शर्माले जनाए। संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको अध्यक्षकुमार पन्तले बताए। संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ।

विदेशमा जस्तो नेपालमा धनाढ्यबाट सहयोग नआएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएसँगै केही व्यापारीले सहयोग गर्न सुरु गरेका छन्।
यसैगरी, कोषमा व्यवसायी वसन्त चौधरीले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। चौधरी आइतबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको ट्विटमा कमेन्ट गर्दै सामाजिक सञ्जालमार्फत एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नर्भिक अस्पतालबाट र वसन्त चौधरी फाउन्डेसनबाट सहयोग गर्ने जनाएका छन्। ५० लाख नगद र ५० लाख बराबरका मेडिकल सामान उपलब्ध गराउने जनाएका छन्। व्यक्तिगत रूपमा सबैभन्दा धेरै सहयोग गर्ने चौधरी पहिलो व्यक्ति भएका छन्।

कोरोना भाइरसको उपचारलगायत काममा खर्चिन सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए। कलाकार प्रकाश सपुतले व्यक्तिगत रूपमा दुई लाख रुपैयाँ सहयोग गरेका छन्।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद सूर्य पाठक, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले एक–एक महिनाको पारिश्रमिकबापतको रकम दिने भएका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गृह जिल्ला स्याङ्जामा २० हजार माक्स वितरण गरेकी छिन्। मन्त्री अर्यालले गृह जिल्ला स्याङ्जामा विपद् व्यवस्थापन समितिलाई २० हजार थान माक्स र एउटा गन थर्मोमिटर प्रदान गरिन्। बन्दी जीवन बिताएका कैदी र डिल्लीबजार कारागार प्रशासनले ४० हजार रुपैयाँ सहयोग गरेका छन्।

कोषमा जम्मा भएको रकमलाई सरकारले कोरोना संक्रमणविरुद्ध लड्न परिचालन गर्ने बताएको छ। कांग्रेस सांसद गगनकुमार थापाले महामारी फैलिनबाट रोक्न सरकारलाई सघाउनुपर्ने भन्दै सबै सांसदको एक महिनाको तलव कोषमा राख्न आह्वान गरेका छन्।
– नागरिक