५ जेष्ठ २०८१, शनिबार
Follow Us

नेपालवाट शंकास्पद बिरामी पठाएको भन्दै भारतीय सञ्चारमाध्यमा खबर प्रशारण

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०७६, शुक्रबार १५:००

काठमाडौं । कोरोनाको संक्रमण फैलाउन नेपालवाट शंकास्पद बिरामी पठाएको भन्दै भारतीय सञ्चारमाध्यमले खबर प्रशारण गरेका छन् । समाचारमा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाको नाम समेत उल्लेख गरिएको छ ।

मियाले भने भारतीय सञ्चार माध्यममा प्रशारित खबरप्रति आपत्ति जनाएका छन । स्थानीय सरकार प्रमुख भएको र अहिले कोरोना संक्रमण फैलन नदिन विभिन्न काम गरिरहेका बेला भारतीय सञ्चारमाध्यममा आफू विरुद्ध षड्यन्त्रपूर्वक ढंगले खबरहरु प्रशारण भइरहेको उनले बताए । भारतीय सञ्चारमाध्यममा प्रशारित खबरमा कुनै सत्यता नभएको दावी पनि मियाँले गरेका छन ।

उनले आफनो चरित्र हत्या गर्ने गरि प्रशारित समाचारप्रति प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराइसकेको बताए । विश्व नै कोरोनासँग लडिरहेको समयमा संक्रमण फैल्याउने कुरा सोच्न पनि नसकिने उनको भनाइ छ । अध्यक्ष मियाले अफवाह फैल्याउने भारतीय सञ्चारमाध्यमलाई कारवाही गर्न वीरगञ्जस्थित महावाणिज्य दूतावासको ध्यानाकार्षण समेत गराएका छन ।

भारतीय सञ्चारमाध्यमले भारतको पश्चिम चम्पारण, बेतिया बिहार जिल्ला पदाधिकारी विश्वास भाजनले आफू मातहत रहेका प्रहरीलाई पठाएको गोप्य पत्रमा ४० देखी ५० जना कोरोनाका संकास्पद बिरामी मियाले भारत पठाएको दावी गरिएको छ । साथै पत्रमा सीमामा सतर्कता बढाउन र कुनै पनि प्रकारको संदिग्ध गतिविधि गर्न नदिन पनि प्रहरीलाई निर्देशन दिइएको छ ।