१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकार महासंघ कतार शाखाका अध्यक्ष मिया कोरोना भाइरसबाट संक्रमित

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७७, मंगलवार २०:११

काठमाडौँ । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बख्श मिया कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

मिया आफैले सोमबार फेसबुक मार्फत आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । संक्रमण देखिएपछि विगत केहि दिनदेखी कतारको एक अस्पतालमा उपचार गराइरहेको उनले जानकारी गराएका छन् ।

मियाका अनुसार अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनले संक्रमण भएपछि प्रवासी जीवन पीडादायी हुने पनि बताएका छन् । ‘मेरो स्वास्थ्यमा क्रमिक सुधार हुँदैछ। तथापि प्रवासको भुमिमा सबैकुरा सामान्य नहुँदो रहेछ,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

तनहुँ घर भइ विगत लामो समयदेखि दोहामा कार्यरत रहेका मिया सामाजिक अभियान्ता समेत हुन् । ‘सामान्यतया ज्वरो, खोकी तथा स्वास प्रश्वासमा देखिएको समस्यालाई निधान गर्ने हेतू उपचार चलिरहेको र सबैप्रक्रारका समस्याहरु क्रमिक घट्दै गइरहेको छ, उनले लेखेका छन् ‘अहिले ज्वरो आउने क्रम रोकिएको तथा खोकी घट्दो अवस्थामा रहेको छ । स्वास लिने प्रकृयामा केहि प्रतिकुलता देखिएको भएपनि केहि दिनभित्रमा त्यसमा समेत लाभ हाँसील हुने कुरामा बिस्वस्त छु।’

उनले विभिन्न माध्यमबाट आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चाँसो, चिन्ता र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यावाद समेत दिएका छन् ।

कतारमा हालसम्म कोरोना भाइरसबाट ६ हजार १५ जना संक्रमित भएका छन् । तीमध्ये ९ जनाको ज्यान गएको छ, भने ५ सय ५५ जना उपचारपछि निको भएका छन् । त्यस्तै ३७ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ । कतारले संक्रमित विदेशी नागरिकको राष्ट्रियता बारेमा केही खुलाउने गरेको छैन् । तसर्थ कतारमा कति नेपाली संक्रमित छन् भन्ने यकिन छैन् ।