१७ असार २०८१, आईतवार
Follow Us

पीडित बालकलाई बेलायतबाट २ लाख रुपैयाँ सहयोग

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०७७, शुक्रबार १०:०२

लमजुङ । लमजुङका एक रक्त क्यान्सर पीडित १५ बर्षीय बालकलाई बेलायतमा रहेका लमजुङेहरुले २ लाख रुपैया आर्थिक सहयोग गरेका छन् । मस्र्याङदी गाउँपालिका– ५ को तल्लो चिप्ला गाउँका बालक विशाल विकको उपचारमा सहयोगका लागि बेलायतवासी नेपाली समुदायले सो रकम सहयोग गरिएको हो ।

लमजुङको उत्तरी क्षेत्र साविक बाहुनडाँडा, घेर्मु र ताघ्रिङका नागरिकको संस्था बाघेताको समाज युकेको सक्रियतामा बेलायतमा रहेका नेपालीहरुबाट २ लाख रुपैयाँ संकलन गरिएको हो । संकलित रकम मस्र्याङदी गाउँपालिका– ४ का खुशीराम गुरुङले विशालका बुवा आशबहादुर विकलाई हस्तान्तरण गरे । खुशीराम गुरुङले विशालको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग खोजिएको बताए ।

पीडितका बुवा आशबहादुर विकले सहयोग रकमले छोराको उपचारमा थप सहज बनाउने बताउँदै धन्यवाद दिए । उनका अनुसार ४ महिनादेखि विशाललाई क्यान्सर भएको जानकारीमा आएको हो । हालसम्म दुई लाख बढी रकम खर्च भइसकेको छ । छोराको उपचारमा २० देखि २५ लाख रुपैयाँसम्म खर्च लाग्ने अस्पतालले बताएको तर आफ्नो आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरेको उनले बताए । उनका अनुसार विशालको हाल हरिसिद्धी क्यान्सर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।