लण्डन । विश्वव्यापी कोरोना भाइरसको प्रभावका भारत र तेस्रो मुलुकबाट आगामी दिनमा साढे तेह्र लाख मानिस नेपाल फर्किने अनुमान सरकारले गरेको छ ।
नेपालका विभिन्न नाका हुँदै भारतबाट ३ लाख ५० हजार मानिस फर्कने अनुमान कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले गरेको हो । त्यस्तै हवाई मार्ग खुलेपछि खाडी लगायत अन्य मुलुकबाट १० लाख नेपाली नागरिक स्वदेश फर्किन सक्ने सरकारी अनुमान छ।
हवाई मार्गबाट दैनिक १० हजार मानिस नेपाल आउनसक्ने अनुमान छ।
उनीहरूको व्यवस्थापनका लागि विमानस्थलमा हेल्थ डेस्कहरू स्थापना गरी स्वास्थ्य जाँच गरेर सम्बन्धित जिल्लामा क्वारेन्टाइनमा पठाउने योजना बनाइएको छ।
नेपाल फर्कनेलाई क्वारेन्टाइनमा राख्ने लगायत प्रबन्ध गर्न नेपाली सेनालाई जिम्मा दिने तयारी सरकारको रहेको वताएको छ । यसरी प्रवेश गरेकामध्ये १५ प्रतिशत संक्रमित हुनसक्ने समेत विश्लेषण गरिएको छ।
नेपालीहरू यसरी फर्किएलगत्तै सीमा नाका र विमानस्थलमा उनीहरूको कसरी व्यवस्थापन गर्ने भनेर सेनाले तयारी सुरू गरेको छ।
भारतबाट नेपाल भित्रिन सक्नेमा पाँच वटा प्रदेशका १६ नाका पहिचान गरिएको छ।
सीमा नाकामा स्वास्थ्य जाँच गरी व्यवस्थित ढंगले प्रवेश गराउने र प्रवेश गरेकालाई यातायात व्यवस्थापन गरी सम्बन्धित जिल्लास्थित क्वारेन्टाइनमा पठाउने प्रस्ताव गरिएको छ।