२० आश्विन २०८३, मंगलवार
Follow Us

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७७, मंगलवार ०४:२२

बाँके । बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि सिल गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले नरैनापुरलाई जोखिम क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मलाई पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको हो ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा छ वटा वडा छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ । संक्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रूपमा आवतजावत ठप्प गरिएको हो ।

सो क्षेत्रमा थप सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । नरैनापुरमा हिजो फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै संक्रमितको संख्या ६८ पुगेको छ । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जाने गरी नौ जनामा संक्रमण देखिएको थियो ।

नरैनापुरमा शुरूमा फेला परेका आठजनासँगको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजिटिभ आएको हो । हिजो संकलन गरिएको ९३ सहित अझै १ सय १० जनाको स्वाब परीक्षणका क्रममा छ । यससँगै बाँकेमा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धेरै पढिएको