कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने विषय मैले उठाएको हो : वामदेव गौतम
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने विषय आफूले उठाएको बताएका छन् । आज फेसबुकमार्फत उनले नक्सा जारी गर्ने मामिलामा निश्चित नामका व्यक्तिहरूलाई देवत्वकरण नगर्न आग्रह गरेका हुन् ।
पार्टीको सामूहिक निर्णय प्रकृयाअनुार नेपाल सरकारले अनुमोदन गरेको वास्तविकतालाई स्वीकार गर्न पनि उनले आग्रह गरेका छन् । उनले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफुले नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको दावी गरेका छन् ।
वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य रहेको उनको भनाइ छ । सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने उनको भनाइ छ ।

