२९ बैशाख २०८१, शनिबार
Follow Us

सवारी साधनमा जोरबिजोर प्रणाली लागू, आज जोर चल्ने

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७७, शुक्रबार ०३:३४

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार आजदेखि जोर बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएको छ ।

उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आजदेखि सञ्चालन हुने जोर बिजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने छ ।

४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र मोटरसाइकल, स्कुटर, मोपेडमा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाइने छ । जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन भने रोक लगाइएको छ । यस अघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने महाशाखाले उल्लेख गरेको छ ।