२९ बैशाख २०८१, शनिबार
Follow Us

एट्लान्टा प्रहरी प्रमुखले दिए राजीनामा

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०७७, आईतवार ०४:१९

न्यूयोर्क । अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएकी हुन् । २७ वर्षका रेशर्ड ब्रुक्सको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली ब्रुक्सलाई लागेको बताइएको छ । ब्रुक्सको मृत्युका दोषीलाई कारवाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ । अमेरिकाभर यसअघि नै जर्ज फ्लोइडको मृत्युलाई लिएर प्रहरी ज्यादती तथा रंगभेद विरुद्ध प्रदर्शनमा छन् । उता फ्रान्समा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।

रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारी र प्रहरीबिच पेरिसमा झडप भएको हो । प्रदर्शनकारीले सन् २०१६ मा प्रहरी हिरासतमै मारिएका फ्रान्सेली अश्वेत व्यक्ति एडम ट्राओरीका लागि न्यायको माग गरेका थिए ।

बेलायतका विभिन्न शहरमा भएका प्रदर्शनमा प्रहरीसँग भएको झडपमा केही आन्दोलनकारी घाइते भएको बताइएको छ । अमेरिकामा जर्ज फ्लोइडको हत्यापछि लगातार रंगभेदविरुद्धको प्रदर्शन भइरहेका छन् । जातीय विभेद अन्त्यका लागि अमेरिकाबाहेक बेलायत, युरोप, अष्ट्रेलियालगायतका मुलुकमा प्रदर्शन भएका हुन् ।