१८ बैशाख २०८१, मंगलवार
Follow Us

लिभरपुलले जित्‍यो प्रिमियर लिग उपाधि

नेपालब्रिटेन डट कम्
१२ असार २०७७, शुक्रबार ०४:४४

लन्डन । इङ्लिश क्लब लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधिमा कब्जा जमाएको छ। बिहीबार लिग अन्तरगत भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले ३ दशकपछि उपाधि हात पारेको हो।

जारी सिजनमा सुरूदेखि नै उत्कृष्ट खेल देखाउँदै आएको लिभरपुलका लागि उपाधिमा कब्जा जमाउन एक जित वा म्यानचेस्टर सिटीको एक हारको आवश्यक्ता थियो।

बिहीबार भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएपछि उपाधि कब्जाका लागि आवश्यक अन्तर लिभरपुललाई प्राप्त भयो र उसको लिग उपाधिको ३० वर्ष लामो खडेरीको अन्त्य भयो।

बिहीबार भएको खेलमा म्यानचेस्टरलाई पराजित गर्ने क्रममा चेल्सीका क्रिश्चियन पुलिसिकले खेलको ३६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

सो अग्रतालाई म्यानचेस्टर सिटीले केविन डी ब्रुयनको गोलमा खेलको ५५ औं मिनेटमा बराबरी गरेको थियो। त्यसपछि विलियनले ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि खेल चेल्सीले २-१ ले आफ्नो पक्षमा पार्‍यो।

लिभरपुलले पछिल्लोपटक सन् १९८९-९० उपाधि जितेको थियो। उसले हालसम्म १९ पटक लिग उपाधि जितेको छ।

लिगमा लिभरपुलले ७ खेल खेल्न बाँकी रहेको छ। लिगमा हालसम्म उसले ८६ अंक जोडेको छ। यसैगरी दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको लिगमा ६३ खेलबाट सिटीको ६३ अंक छ।

लिग उपाधि पक्का भएपछि हजारौं समर्थकले एन्फिल्डमा जम्मा भएर जितको खुशीयाली मनाएको बिबिसीले जनाएको छ।