३० बैशाख २०८१, आईतवार
Follow Us

गण्डक ब्यारेजको सबै ढोका खोलियो

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०७७, मंगलवार ०५:०९

चितवन । नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो । नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको हो ।

सोमबार ९ बजे ब्यारेजमा तीन लाख १५ हजार क्यूसेक पानी प्रवाह भइरहेको छ । तीन लाख प्रतिक्यूसेक पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको हो । नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ ।

गण्डक क्षेत्रको सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह गरिएको हो । यसैविच पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ मा पहिरोले घर बगाउदा दुई जना बेपत्ता भएका छन् ।

सोमबार राति खसेको पहिरोले सुतिरहेको अवस्थामा घरसहित ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको हो । प्रहरी र स्थानीयले उनीहरुको खोजी जारी राखेका छन् ।