४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७७, शुक्रबार ०८:३०

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ट्रम्पकी सल्लाहकार होप हिक्समा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । सोही क्रममा दम्पतीमा नै संक्रमण पुष्टि भएको हो ।

केही दिनअघि ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् । मंगलबार राष्ट्रपति चढेको विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो ।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी नजिकै देखिएकी थिइन् । चुनावी अभियानका क्रममा होपले ट्रम्पसँग नजिक भएर काम गरेकी थिइन् ।

ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको चुनावी अभियान समेत प्रभावित हुने आंकलन गरिएको छ । चुनावी अभियानकै क्रममा फ्लोरिडाको मायामिमा अक्टोबर १५ मा दोस्रो बहस तय भएको छ । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचन हुँदैछ ।