२९ बैशाख २०८१, शनिबार
Follow Us

प्रचण्डलाई प्रस्ताव फिर्ता गराउन ईश्वर पोखरेल खुमलटारमा

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७७, शुक्रबार ०७:२४

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवादमा सहमति खोज्नका लागि नेताहरुले अनौपचारिक छलफललाई तिब्रता दिएका छन । सोही क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली निकट सचिवालय सदस्य ईश्वर पोखरेलले आज विहान अर्का अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेट गरेका छन ।

खुमलटारमा करिव आधा घन्टा भएको छलफलमा पोखरेलले प्रधानमन्त्री ओलीका तर्फवाट यसअघिको राजनीतिक प्रतिवेदन फिर्ता लिएर सहमतिमा आउन प्रस्ताव गरेको बुझिएको छ । भेटमा उनले दाहालले प्रस्ताव फिर्ता लिएपछि प्रधानमन्त्रीको पनि प्रस्ताव फिर्ता हुने र नयाँ समझदारीको वाटो खुल्ने मध्यमार्गी वाटोमा जान आग्रह गरेको बताइएको छ ।

दाहालले भने प्रतिवेदन फिर्ता नहुने भन्दै पार्टीको औपचारिक संयन्त्रमा त्यसवारे छलफल गरेर नै निकास निकाल्नुपर्ने अडान दोहो-याएका छन । यसअघि बिहीबार पनि राष्ट्रपति विद्यादेवी भण्डारीले ओली र दाहालसँग दुबैसँग छुट्टाछुट्टै भेट गरेर पार्टीको विवादमा सहमति जुटाउन आग्रह गरेकी थिइन ।

बिहीबार नेकपाका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दाहालसँग छलफल गरेका थिए । नेकपा सचिवालय बैठक शनिवार दिउसोका लागि बोलाइएको छ । बैठकअघि सहमति जुटाउनका लागि दोस्रो तहका नेताहरुले ओली र दाहालसँगको छलफल तिब्र बनाएका छन ।