२९ बैशाख २०८१, शनिबार
Follow Us

सगरमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गरिदै

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७७, आईतवार १४:४०

काठमाडौ । सरकारले सगरमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गर्ने भएको छ । केही दिनअघि मन्त्रीपरिषदले उचाई सार्वजनिक गर्न स्वीकृति दिएपछि नापी विभागले मंगलबार उचाइ सार्वजनिक गर्न लागेको हो । पत्रकार सम्मेलन गरेर नयाँ उचाई विभागले सार्वजनिक गर्न लागेको हो ।

नयाँ सर्भे अनुसार सगरमाथाको उचाइ केही बृद्धि भएको बताइएको छ । सगरमाथाको मुनि रहेको भूगर्भमा भारतीय र युरेशियाली प्लेटको हलचल जारी रहेको भारत र चीन तर्फको प्लेटले ठक्कर दिदाँ उचाइ बढेको हुन सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १९५४ मा सर्वे अफ इण्डियाले सार्वजनिक गरेको ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको उचाइका रूपमा मान्यता दिँदै आइएको छ । तर, अब यसको उचाई फरक हुने छ ।

२०७२ सालको महाभूकम्पपछि सगरमाथाको उचाई फरक पर्ने अध्ययनले देखाएपछि सरकार आफैले मापन गरेको हो । सगरमाथाको उचाई नेपाल र चीनले संयुक्त रुपमा घोषणा गर्ने भनिएपनि नेपाल आफैले घोषणा गर्ने भएको हो । चीनले पनि सगरमाथाको उचाई नापेको छ । चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका समयमा सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाइ घोषणा गर्ने सहमति दुई देशविच भएको थियो ।