३० बैशाख २०८१, आईतवार
Follow Us

अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७७, सोमबार ०४:१२

न्यूयोर्क । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गर्दैछ । अमेरिकाले पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकलाई खोप दिन लागेको हो ।

पहिलो दिन विभिन्न राज्यका १ सय ४५ ठाँउमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मंगलबार अन्य ४ सय २५ ठाउँमा खोप दिइने बताइएको छ । अमेरिकाको खाद्य तथा औषधि विभाग ‘एफडीए’ अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिए लगत्तै खोप अभियान शुरु भएको हो ।

पहिलो चरणमा ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख नागरिकलाई खोप दिइनेछ । पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने विश्वास गरिएको छ ।

फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया र बहराइनले अनुमति दिइसकेका छन् । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म एक करोड ६७ लाख भन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये तीन लाखभन्दा भन्दा धेरैको मृत्यु भएको छ ।