१ जेष्ठ २०८१, मंगलवार
Follow Us

गरिब देशहरुमा जनवरीबाटै कोरोनाविरुद्धको खोप पठाउने डब्लुएचओद्वारा जानकारी

नेपालब्रिटेन संवाददाता
४ पुष २०७७, शनिबार ०६:४८

न्यूयोर्क । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले गरिब राष्ट्रहरूमा नयाँ वर्ष सन् २०२१ को शुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने जनाएको छ ।

डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने बताएका हुन् । उनीहरूले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अध्यारो सुरुङमा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको उल्लेख गरेका छन् ।

डब्लुचओले विज्ञप्ती प्रकाशित गर्दै विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको जनाएको छ । सबै देशले कोरोनाविरूद्धको खोप किनेर लैजान नसक्ने भएकाले ति देशहरूमा पनि सन् २०२१ को सुरू देखि नै खोप पठाइने विज्ञप्तीमा उल्लेख छ ।

अहिलेसम्म संसारभर कोरोनाका कारण ७ करोड ५९ लाख, ८८ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । १६ लाख ८० हजार भन्दा धेरैको मृत्यु भएको छ ।