४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

ओलीको कदमले पार्टी एकतालाई कुनै असर पर्दैन : अध्यक्ष दाहाल

नेपालब्रिटेन संवाददाता
६ पुष २०७७, सोमबार ०५:५८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले जनताविरोधी ओलीको कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका हुन् ।

अध्यक्ष दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन अपील समेत गरेका छन् । ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’

त्यस्तै दाहालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई अनुशासनको कारवाहीका लागि स्पष्टीकरण माग्ने निर्णय भइसकेको समेत विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीले चालेको कदम, प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भर्त्सना गर्दै पूर्ण रूपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको विषय सार्वजनिक भइसकेको छ।’