२९ बैशाख २०८१, शनिबार
Follow Us

नेम्वाङको पुरानो भिडियो भाइरल

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७७, बुधबार १०:२८

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका तत्कालिन संविधानसभा अध्यक्ष सुवास नेम्वाङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

नेकपाको प्रधानमन्त्री ओली समूहमै आवद्ध रहेका नेम्वाङले संसदीय पत्रकारहरुसँग धुलिखेलमा नयाँ संविधान अनुसार प्रधानमन्त्रीले चाहेर संसद भंग गर्न नसक्ने भनेर दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको हो ।

भिडियोमा नेम्वाङले प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था अहिलेको संविधानबाट हटाएका बताउँदै पाँच वर्षमा आवधिक निर्वाचन गर्ने कुरा स्पष्ट तोकेको बताएका छन ।

संघीय संसद सचिवालय र यूएनडीपीले २०७६ साउन ४ गते काभ्रेको धुलिखेलमा गरेको अन्तरसंवाद कार्यक्रममा नेम्वाङले प्रतिनिधिसभा पाँचै वर्ष चल्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेम्वाङ उनकै समूहमा रहेका छन् ।

तर प्रतिनिधिसभा भंगका विषयमा उनले औपचारिक प्रतिक्रिया जनाएका छैनन् । उनको मौनताप्रति नेताहरुले समेत प्रश्न उठाउदै आएका छन् । प्रतिनिधिसभा भंग गरिएको विषयको मुद्दा सर्वोच्चमा समेत विचाराधिन रहेको छ ।