४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

विश्वप्रकाश शर्माको आतिथ्यतामा एनपीसीसी यूकेले बहस कार्यक्रम गर्दै

नेपालब्रिटेन डट कम्
२० माघ २०७७, मंगलवार २३:२५

नेपाली जनजसम्पर्क समिति बेलायत (एनपीसीसी) यूकेले आगामी ६ फेब्रुवरीको दिन एक वहस कार्यक्रमको आयोजना गरिरहेको छ । समितिको सूचना, प्रकाशन तथा प्रचार बिभागको संयोजनमा हुने भर्चुअल कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।

प्रजातान्त्रिक समाजवाद वा नवउदारवादः प्रवासमा रहेका नेपालीहरुबीच बिद्यमान सैदान्तिक दुविधा बिषयक बहस कार्यक्रम बिशेषतः आफूलाई कांग्रेसी भन्ने तर बेलायतमा आएर गैरसमाजवादी पार्टीमा लागेकाहरुका लागि निकै कटाक्षको विषय बन्नेछ ।

स्थापना कालदेखि नै प्रजातान्त्रिक समाजवाद अंगालेको पार्टी नेपाली कांग्रेसका बेलायतस्थित कतिपय सक्रिय सदस्यहरु हाल समाजवादी लेबर पार्टी भन्दा पनि कन्जरभेटिभ पार्टीमा लागेर उपमेयरसम्म पनि भइसकेका छन् । त्यसरी एकातिर नेपाली कांग्रेसको सदस्य रहनु र अर्कोतर्फ कुनै नवउदारवादी पार्टीसंग आवद्द हुनु कति वाञ्छनीय छ भन्ने सन्दर्भमा एनपीसीसी यूकेको यो वहस कार्यक्रम आफ्ना सदस्यहरुका लागि एक सैदान्तिक प्रशिक्षण जस्तो हुने भएको छ ।

कार्यक्रममा एकातिर बेलायतको लेबर पार्टीमा लागेका नेपालीहरुको तर्फबाट चिरपरिचित प्रखर वक्ताहरु शिवजी श्रेष्ठ र विश्व आदर्श पण्डितले नेपाली कांग्रेसले अंगालेको प्रजातान्त्रिक समाजवादको रक्षा गर्नेछन् भने अर्कातिर आफू कांग्रेसी भएर पनि किन बेलायतको कन्जरभेटिभ पार्टीमा लागेको भन्ने बारेमा ब्रेण्ट बरोका वर्तमान उपमेयर लक्ष्य गुरुङ र अल्डर्शटका काउन्सिलर प्रवेश केसीले आफ्नो बचाऊ गर्नेछन् ।

त्यस्तै एनपीसीसी यूकेको सहमन्त्री इन्द्रहाङ लिङदेन, जो अहिले लण्डनको फेल्थाम चुनाव क्षेत्रबाट कन्जरभेटिव पार्टीका उपनेता हुन्, उनले पनि उपमेयर लक्ष गुरुङ र काउन्सिलर प्रवेश केसीलाई साथ दिनेछन् । उता समितिकै उपसभापति कोपिला सुब्बाले चाहिं कांग्रेस पार्टीले अंगिकार गरेको प्रजातान्त्रिक समाजवादकै वकालत गर्नेछिन्।

बहस् कार्यक्रमको प्यानलमा एनपीसीसी यूकेका सल्लाहकार डा. सम्पूर्णानन्द ढुंगाना र नेपाली कांग्रेसका पुराना कार्यकर्ता डा. बच्चु कैलाश कैनीलाई आमन्त्रण गरिएको छ । डा. ढुंगाना नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय उपसभापति हुन् । स्वास्थ्य बिज्ञ तथा राजनीतिकर्मी डा. कैनी भने बेलायतको लेबर पार्टीबाट सन् २०१७ को आम संसदीय चुनावमा डार्टफोर्ड क्षेत्रबाट उपबिजेता बनेका थिए ।

प्यानलिस्टहरुले कार्यक्रममा प्रस्तुत भएका धारणाहरुको समीक्षा गरेपछि प्रमुख अतिथि विश्वप्रकाश शर्माले वहसको बिषयमा केन्द्रित भएर मन्तव्य दिने कार्यक्रम छ । एनपीसीसी यूकेका प्रवक्ता खुशी लिम्बुले कार्यक्रम सञ्चालन गर्नेछन् । कार्यक्रमको प्रत्यक्ष प्रसारण लण्डनका प्रमुख नेपाली सञ्चार माध्यमहरु नेपाल मामिला, नेपाल ब्रिटेन, लण्डन नेपालन्युज, नेपाल प्रेस युनियन यूके र सिलौटी टाइम्सको फेसबूक पेजबाट हुनेछ ।

एनपीसीसी यूकेका कार्यवाहक सभापति महेश कुमार दहालले कार्यक्रमलाई सफल पार्न सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।