२१ जेष्ठ २०८१, सोमबार
Follow Us

कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७७, आईतवार ०६:३२

काठमाडौँ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । आइतबार बिहान ११ बजे टर्किस एयरलाइन्सको विमानमार्फत उक्त खोप नेपाल ल्याइएको हो ।

उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो । शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका थिए ।

सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानका अन्तर्गत ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिँदै छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाइने छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने छ ।