४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

जसपा फकाउँदै प्रधानमन्त्री

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७७, शुक्रबार ०५:२८

काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ले उठाउँदै आएका माग सम्बोधनका विषयमा नेकपा एमालेले आज कार्यदल तहमा छलफल गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेताहरूबीच बिहीबार भएको दुई घण्टा लामो छलफल सकारात्मक भएपछि जसपाका माग सम्बोधन गर्न कार्यदल तहमा छलफल हुन लागेको हो ।

कार्यदलमा जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सदस्य छन् । त्यस्तै सरकारी पक्षको कार्यदलमा सुवास नेम्वाङसँगै अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहभागी छन् ।

प्रधानमन्त्री ओलीले निलम्बित सांसद रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तालाई रिहा तथा मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउनुपर्ने माग सुनुवाइका लागि सकारात्मक देखिएका छन् ।

जसपाले संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने विषयलाई एकसाथ सम्बोधन गर्नुपर्ने माग अघि सारेको छ । जसपाका माग सम्बोधन गरेर एमाले र जसपाको गठबन्धन सरकार गठनको तयारी प्रधानमन्त्री ओलीले गरिरहेका छन् ।

ओलीको विकल्पमा तीन दलीय गठबन्धनको सरकार बनाउनुपर्ने माग राख्दै आएका जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने सरकारसँगको वार्ताप्रति सकारात्मक देखिएका छैनन् । दुबैले प्रधानमन्त्री ओलीको बहिर्गमनलाई नै मुख्य राजनीतिक मुद्दा बनाउँदै आएका छन् ।