४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

कांग्रेसले हतार गर्दैन – शेरबहादुर देउवा

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७७, आईतवार ०३:४५

कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीको विरुद्धमा लड्नुपर्ने वेला भएको बताएका छन् । कांग्रेसको केन्द्रीय महिला विभागले शनिबार आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिस्ट पार्टीको खिलापमा लड्नुपर्ने वेला आएको बताएका हुन् ।

देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए । उनले भने ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो । अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी ? कम्युनिस्ट एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छ । झुटा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरूलाई बहकाएर आपूm सत्तामा बसिरहने कुरा हो । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ । कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस् । ००७ सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ, हामीले । पञ्चायतको खिलापमा पनि प्रजातन्त्रकै लागि लडेका हौँ । अहिले पनि कम्युनिस्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने वेला भएको छ । प्रजातन्त्रको खिलापमा उनीहरू छन्, तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ, नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी हो, नेपाली कांग्रेस । अरू प्रजातन्त्रवादी पार्टी नै होइनन् ।’

देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । कांग्रेसले लोभ र हतार गर्न नहुने भन्दै उनले परिस्थिति आइप-यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे । उनले भने, ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन । परिस्थिति आयो भने जिम्मेवारीबाट भाग्ने पनि छैनौँ ।’

देउवाले कांग्रेसमा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको पनि बताए । महिलालाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाइ छ । उनले भने, ‘हाम्रो पार्टीले महिला दिदीबहिनीहरूलाई पनि नेपालको संविधानअनुरूप नै ३३ प्रतिशत आरक्षण गरेका छौँ । महिलालाई पार्टीमा जबसम्म आकर्षित गर्न सकिँदैन, तबसम्म पार्टीको जित हुँदैन । महिला शक्ति हुन्, जिताउन सक्छन्, हराउन पनि ।’