२९ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतलगायत १० मुलुकको उडान रोक्ने सरकारको तयारी

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७८, शनिबार १०:२२

काठमाडौं । भारत र अमेरिकासहित १० मुलुकको उडान रोक्ने तयारी सरकारले गरेको छ । कोरोना भाइरस (कोभिड(१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

हिजो शुक्रबार बेलुका सीसीएमसीको बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो ।

पर्यटनमन्त्री भानुभक्त ढकालले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको बताए । ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागू नहुने उनको भनाई थियो ।

ढकालका अनुसार आन्तरिक उडान पनि बन्द गरौं भन्ने प्रस्ताव भएको छ । सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने उनको भनाई छ ।

भाइरसबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुमा दिँदै आएका थिए । बैठकले भारतसँगका २२ नाका बन्द गर्न पनि मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।