५ जेष्ठ २०८१, शनिबार
Follow Us

माधव समूह तत्काल सरकारमा नजाने

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७८, मंगलवार १२:०२

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल समूह प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार विहान एमाले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर माधव समूहले प्राविधिक कारणले सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको स्रोतको भनाई छ ।

उनीहरुबीचको आज भएको भेटमा साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा समेत छलफल भएको बताइएको छ । मंगलबार नै प्रचण्डले उक्त विषयमा प्रधानमन्त्री देउवासँग समेत बालुवाटार पुगेर छलफल गरेका छन् । सो छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच साझा कार्यक्रम बनाएर प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न दुवै नेता सहमत भएको छ ।

स्रोतका अनुसार प्रचण्डसँगको भेटमा भने नेता नेपालले साझा कार्यक्रम बनाएर सरकार सञ्चालन र सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने बताए छन् । तर आफू तत्काल सरकारमा सहभागी हुनसक्ने अवस्था नरहेको जवाफ दिएका छन् ।