केटा होस या केटी बाटो ढुकेर पिट्थें
शोभा गौतम खड्का, पूर्वअध्यक्ष, नारायणगढ लेडी जेसिज
प्रजातन्त्र सेनानी बुबा नन्दकिशोर गौतमको राजनीतिक प्रभावले विद्यार्थी राजनीतिमा होमिएकी शोभा गौतम खड्का यतिबेला सौन्दर्य व्यवसायमा आबद्ध छिन् । आर्थिक रूपमा सक्षम हुन सके धेरै अवसर पाउन सकिने उनको विचार छ । विभिन्न सामाजिक संघ–संस्थामा समेत आबद्ध शोभा जेसिजको व्यक्तित्व र नेतृत्व विकासको नारा पछ्याउँदै जेसिजमा लागेकी छन् । उनी सन् २०१६ मा नारायणगढ लेडी जेसिज अध्यक्ष पनि बनेकी थिइन् । उनीसँग सिर्जना अर्यालले गरेको कुराकानी :
० के काममा सक्रिय हुनुहुन्छ ?
– भर्खरै नारायणगढ लेडि जेसिजको अध्यक्षको कार्यकाल सकिएको छ । नारायणगढ लेडि जेसिजको भवन पनि निमार्ण कार्य पनि सम्पन्न भइसकेको छ । सामाजिक संघ–संस्था, घरपरिवार र व्यवसायतिरै व्यस्त छु । अब धेरै समय व्यवसायलाई दिने विचारमा छु ।
० नारायणगढ लेडी जेसिजको पनि आफ्नै भवन निर्मार्ण गर्नुभएछ, कसरी सम्भव भयो ?
– नारायणगढ लेडी जेसिज स्थापना भएको दुई दशक भयो । भवन निर्माण हुनुमा सबै साथीहरूको सहयोग र महत्वपूर्ण योगदान छ । म सबै पूर्वअध्यक्ष र कार्यसमितिका साथीहरूलाई सम्झिन चाहन्छु । सन् २०१५ मा पूर्वअध्यक्ष सुनिता लिगल कर्माचार्यको कार्यकालमा जग्गा किनेका थियौं । नारायणगढ लेडी जेसिज स्थापनाकालदेखि नै जम्मा भएको रकमले जग्गा किनेको हो । गत वैशाखमा भवन शिलान्यास गरेका थियौं । विभिन्न दाताहरूको सहयोगले भदौदेखि भवन निर्माण सुरु गरेर गत पुस १६ गते उद्घाटन गरेका हौं ।
० नारायणगढ जेसिजको भवन छँदै थियो, तपाईहरूलाई छुट्टै भवन आवश्यक थियो र ?
– नारायणगढ जेसिजको भवन विभिन्न कार्यक्रममा भाडाका लागि पनि दिने गरिएको छ । आफ्नो भवन नभएकाले मिटिङलगायतका कार्यक्रम गर्न सधैं बाहिर गइरहनुपर्ने, यसो अन्य जिल्लाका साथीभाइ आउँदा पनि कहाँ बस्ने भन्ने हुने, त्यसैले आफ्नै भवन निर्माण गर्न हामी लागिप¥यौ । र, सफल पनि भयौं ।
० सामाजिक कामबाहेक व्यवसाय के गर्नु हुन्छ ?
– मेरो पार्लर व्यवसाय हो । विगत १७ वर्षदेखि पार्लर चलाइरहेकी छु । चितवन ब्युटीपार्लर युनिटको पूर्वअध्यक्ष पनि हुँ ।
० ब्युटीपार्लरप्रति सामाजिक दृष्टिकोण कस्तो छ ?
– नेपाली समाज अझै संकुचित नै छ । पहिले जस्तो नकारात्मक पनि छैन । विस्तार सकारात्मक बन्दै जान थालेको छ ।
० ब्युटीपार्लरमै किन जाने ?
– ब्युटीपार्लरमा मेकअप गरेर राम्रो बन्न जाने होइन, आफ्नो स्किनअनुसारको सामग्री के लगाउँदा ठिक हुन्छ भन्दै चेक गरेर अनुहार सुहाउँदो मेकअप गरी स्र्माट बन्न जाने हो । बजारमा विभिन्न किसिमका उत्पादन आएका छन्, सबैका लागि सबै उत्पादन उपयुक्त हुँदैन, जे पायो त्यो लगाउँदा त्यसको नराम्रो असर पनि पर्छ । कसैलाई सिधा सल्ल कपाल मन पर्छ । मान्छेको अनुहारको आकार, कलरअनुसार सुहाउँछ कि सुहाउँदैन, त्यो आधारमा मेकअप गर्न हामी सल्लाह दिन्छौं ।
० राजनीतिक परिवारकी तपाई पार्लर व्यवसायतिर सक्रिय हुनु भएछ नि ?
– मेरो बुबा नेता हुनुुहुथ्यो । बुवाकै कारण पश्चिम चितवनको हाम्रो माइतीको गाउँको नाम नै गौतमनगर भएको हो । नेताहरू घरमा आउने, कार्यक्रमहरू गर्ने भएकाले विद्यार्थीकालमा त्यसको प्रभाव ममा पनि स्वाभाविक रूपमा प¥योे । म सानैदेखि अरुलाई सिंगार्न, हस्तकलाका विभिन्न सामग्री बनाउन सौखिन थिएँ । वीरेन्द्र क्याम्पसमा पढ्ने क्रममा भरतपुर नगरपालिकाले पार्लरसम्बन्धी तालिम दिएको थियो । त्यो तालिमपछि म आफंैले पार्लर खोलेकी हुँ । आफ्नो खुट्टामा उभिन पार्लर व्यवसायले मलाई धेरै सहयोग पुगेको छ । व्यवसायका कारण कमाउन सक्ने भएँ । कमाईका कारण दुई चार रूपैयाँ खर्च गर्नसक्ने भएकी हुँ । त्यसैबाट म समाजमा चिनिन पनि सकें भन्ने लाग्छ । राजनीतिमा सामूहिकताको भावना सिकेको थिएँ । त्यसको प्रभाव पार्लर व्यवसायहरूलाई सगंठित गराउन सहयोग पुगेको छ ।
० विवाह कहिले, कहाँ गर्नुभयो नि ?
– २०६० सालमा हेटौंडामा मेरो विवाह भएको हो । व्यवसायकै कारण अहिले त घर पनि चितवनमै बनाइसकेकी छु ।
० श्रीमान् के गर्नु हुन्छ ?
– मेरो श्रीमान् निरञ्जन खड्का विगत दुई वर्षदेखि अमेरिकामा हुनुहुन्छ । त्यसभन्दा अघि पनि अन्य देशमा हुनुहुन्थ्यो ।
० एक्लै हुनुहँुदो रहेछ, घरपरिवार व्यवसाय, समाज कसरी व्यवस्थापन गर्नु’भा छ ?
– सबैभन्दा ठूलो कुरा इच्छाशक्ति हो, म यो गर्छु भन्ने संकल्प लिएर गरेको काम पूरा हुन्छ नै । पुरुषको तुलनामा महिलालाई बाहिर निस्केर काम गर्न धेरै गाह्रो छ । म ६ महिनाको छोरोलाई स्कुटरमा बोकेर काममा जान्थें । मेरो छोरी २०६१ सालमा जन्मेकी हुन्, त्यतिखेर मन्टेश्वरी पनि थिएन । विद्यालय जाने बेलासम्म साहै्र भयो । छोराको पालामा बरु मन्टेश्वरीले सहज गरायो । बच्चाहरू साना हुँदा त साह्रै गाह्रो हुन्थ्यो । अहिले उनीहरूलाई डे होस्टलमा राखेकी छु । आफूलाई व्यस्त राख्दा र असम्भव कामलाई सम्भव बनाउँदा औधि खुसी लाग्छ ।
० बाल्यकाल र अहिलेको व्यस्तता तुलना गर्दा कस्तो लाग्छ ?
– बाल्यकाल साहै्र रमाइलो थियो । म कसैसँग नडराउने, हकी खालको थिएँ । म आफू गल्ती गर्दिनथें, कसैले गल्ती ग¥यो भने सहन सक्दिनँ थिएँ । विद्यालयमा पढ्ने बेलामा कसैले गल्ती ग¥यो भने सरलाई भन्दा अघि साथीहरू मलाई नै भन्थें । म गल्ती गर्ने केटा होस् या केटी बाटो कुरेर भए पनि पिटेरै छोड्थे । शरीर पनि ज्यांगो नै थियो । मैले धेरै केटाहरूलाई नै कुटेको छु । म देखेर धेरै केटाहरू डराउँथे । पढाइमा त्यति मन नलगाउने अल्छी खालको थिएँ । पहिले कुनै कुराको चिन्ता थिएन, अहिले घरपरिवार, समाजप्रतिको दायित्व छ । जीवनचक्र हो भन्ने बुझेकी छु ।
० त्यसो भए तपाईमा आमूल परिवर्तन आएछ हो ?
– अहिले त्यस्तो मान्छे यस्तो हुन सक्ने रहेछु भन्ने लाग्छ र आफैंलाई अचम्म पनि लाग्छ । तर सानैदेखि झुट बोल्दिनँ थिएँ । हकी स्वभाव त अहिले पनि छँदैछ । श्रीमान्ले जे हो, त्यो भन्ने मेरो बानीलाई राम्रो पनि मान्नु भएको छ ।
० महिलाले गर्नै पर्ने दुई कुरा के हुन् ?
– आत्मनिर्भर बन्न खोज्नुपर्छ, दक्ष बनियो भने समस्या आउँदैन । आफूलाई कमजोर ठान्नु हुन्न । आफैं कमाउन सक्ने भयौं भने विभेद सहन पर्दैन । त्यसैले आर्थिक रूपमा सशक्त हुन म सम्पूर्ण महिला दिदीबहिनीलाई आग्रह गर्दछु, भाग्यमा होइन, कर्ममा विश्वास गर्नुपर्छ ।

