‘महिला मालिक बन्ने बेला आयो’
चितवन । नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मीले महिला शारिरिक र मानसिक दुबै पक्षमा बलियो रहेको भन्दै नेतृत्व लिन सक्ने बताएकीछिन् । पितृसत्ता र सामन्तवादी सोचले महिलालाई सेविकामा मात्र सिमित पारेको परिवेशलाई चिर्न हरेक तह र तप्कामा महिला मालिक बन्ने बेला आएको बताइन् । नेपाल महिला संघ चितवनले आयोजना गरेको महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम पुस्तिका विमोचन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष रेग्मीले
स्थानिय निकायको निर्वाचनमा अब महिलालाई मेयर तथा वडा अध्यक्ष जस्ता प्रमुख पदमा दावी गर्न सुझाएकीछिन् ।आरक्षणमा मात्र सिमित नरही खुला रुपमा प्रतिष्पर्धामा उत्रन महिला सक्षम रहेको उनले जोड दिइन् ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले नेपाली कांग्रेसकै नेतृत्वमा जारी भएको संविधान अनुसार देश नंया संरचनामा जादैं गरेको अवस्थामा कांग्रेसकै बहुमत आवश्यक रहेको बताए । नेताको नजिक रहेकालाई भन्दा जनताको मनोभावसँग नजिक रहेकालाई पार्टीले मूल्यांकन गर्दै अघि बढाउने उनले उद्घोष गरे ।
स्थानीय निकाय निर्वाचनमा प्रमुख पदहरुमा दावी गर्ने महिला नेतृको संख्या अधिक रहेको जिकिर गर्दै उनले चितवनका महिला नेतृहरु अत्यन्तै प्रभावशाली रहेको बताए ।
कार्यक्रममा नेपाल महिला संघ चितवनका पूर्व अध्यक्ष कृष्णकुमारी श्रेष्ठ, शारदा गुरुङ, पूर्वअध्यक्ष ठाकुरकुमारी पौडेललाई सम्मानसमेत गरिएको छ । सम्मानित पूर्व अध्यक्षहरुले महिला संघको शाख जोगाई राख्न अबको निर्वाचन दरिलो रुपमा प्रस्तुत हुन शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा संघकी केन्द्रिय सदस्य सुशीला उप्रेतीले संघै आरक्षणमा मात्र सीमित नरही आफ्नो भूमिका र क्षमताको दायरा बढाउन महिला स्वयम अग्रसर हुनुपर्ने तर्क गरिन् ।कार्यक्रममा नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाहले महिला सशक्तिकरणलाई ध्यानमा राख्दै प्रकाशन गरीएको पुस्तक समाज रुपान्तरणमा प्रभावकारी हुनेमा विश्वस्त रहेको बताइन् । स्थानीय निकाय निर्वाचन नजिकिंदै गर्दा पुस्तकले महिलालाई नेतृत्व लिन र खोज्न पेरित गर्ने उनको भनाई छ ।
कार्यक्रममा संघ चितवन सचिव लक्ष्मी लामिछाने, कोषाध्यक्ष रीता काप्री अधिकारी, महाधिवेशन प्रतिनिधि शीला अधिकारी, जिल्ला सदस्य शशी श्रेष्ठ, क्षेत्रीय अध्यक्ष भगवती गौतम, नगर अध्यक्ष शारदा पोखरेल, भवानी अधिकारी, सुशीला ढुंगानालगायतले मन्तव्य राख्दै नेपाली कांग्रेसलाई बहुमतको पार्टी बनाउन कुनै कसर नछोड्ने बताए ।

