काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डु उपत्यकामा मेलम्चीको खानेपानी पुनःवितरणको शुभारम्भ गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा निर्मित परम्परागत शैलीको ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरण सुरु गरेका हुन् । सिन्धुपाल्चोकको भ्रेमथाङस्थित हेडवर्क्स वर्षातको बाढीका कारण क्षति भएको तथा वर्षायाममा सुरूङसमेत जोगाउनुपर्ने भएकाले पानी पथान्तरणमा केही ढिला भएको बताए ।
‘दीर्घकालीन रूपमा समस्या समाधान नहुञ्जेलसम्मका लागि हरेक वर्ष मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गर्दै अरबौं लगानीमा निर्मित मुख्य संरचनाको रूपमा रहेको २७ किलोमिटर लामो सुरूङलाई क्षति हुनबाट जोगाउन मनसुन अवधिभर सुरूङ सञ्चालन बन्द गर्नुपर्ने बाध्यताका कारण बाह्रै महिना पानी आपूर्ति गर्न नसकिएकोप्रति आम उपभोक्ताहरूमा जानकारी गराउँछु’, प्रधानमन्त्रीले भने, ‘यस वर्षको बाढीले मेलम्ची हेडवर्क्समा गत वर्षको तुलनामा धेरै क्षति पुर्याएकोले मेलम्ची पानी आपूर्तिमा केही विलम्ब हुन गएकोप्रति पनि हाम्रो दायित्ववोध भएको छ ।’
प्रधानमन्त्रीले आयोजनालाई दीगो रूपमा सञ्चालन गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनःर्निर्माणको कार्य कार्यान्वयन गरिने प्रतिबद्धता उनको थियो ।
आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशनसमेत दिएको पनि उनले जनाउ । प्रधानमन्त्रीले आयोजनाको सुरूङ निर्माणमा संलग्न इटालियन निर्माण कम्पनी सिएमसीसँग ठेक्का रद्द भएपछि उक्त कम्पनीसँग आवद्ध विभिन्न स्थानीय आपूर्तिकर्ता र गोदाम एवं भण्डारणका लागि घर भाडामा दिएका घर तथा जग्गाधनीहरूले भुक्तानी नपाएकामा सरकारको ध्यानाकर्षण भएको बताए ।
मेलम्ची खानेपानी वितरणको उद्घाटन पहिलोपटक मगरले २०७७ असार २१ गते भएको थियो । तर, निर्माणको काम अधुरै रहेका बेला उदघाटन गरिएका कारण त्यतिबेला सिन्धुपाल्चोकको अम्बाथानस्थित अडिट टनेल भत्किएर एक यन्जिनियर र एक सवारी चालकको मृत्यु भएको थियो । त्यसयता पटकपटक गरी खानेपानी वितरण गरिएको यो आठौंपटक हो । गत साउन २८ मा मेलम्ची खोलामा आएको बाढीले बाँधको संरचनामा क्षति पुगेका कारण पानी अवरुद्ध थियो ।