राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस–एमाले गठबन्धनको सम्झौता सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै सोमबार रास्वपा सांसद सोविता गौतमले दुई ठूला दलबीचको सम्झौता सार्वजनिक गर्न माग गरिन् ।
उनले अपारदर्शी सहमति भएको भन्दै समावेशीताप्रति सरकारको दृष्टिकोण माग गरेकी छन् ।
‘दुई ठूला दल मिल्ने सामान्य विषय होइन । यो सम्झौता किन र कसरी भयो ? त्यो सम्झौता पारदर्शी होस् । सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ? अहिलेको मन्त्रिपरिषद्को स्वरुप हेर्दा संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व देखिएको छैन’, उनले भनिन्, ‘दलितको प्रतिनिधित्व शून्य छ । यो सरकारले स्वार्थको द्पन्द्वलाई कसरी हेरेको छ ?’
उनले नियामक निकायमाथिको राजनीतिक हस्तक्षेप र रजगजबारे सरकारको धारणा माग गरिन् । उनले भ्रष्टाचार मुद्दामा नाम मुछिएर छानबिनमा परेका मन्त्रीबाट सुशासनको आशा कसरी गर्न सकिन्छ भन्ने प्रश्न गरिन् ।
सांसद तोषिमा कार्कीले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारमा महिला सहभागिता न्यून भएको भन्दै विरोध जनाइन् । यस्तै दलित समुदायको प्रतिनिधित्व नभएकामा प्रश्न गरिन् । ‘दुई ठूला दलको सरकारमा समावेशीता, सहभागिताको नारा मात्रै हो ? नत्र खै सहभागिता ?’, उनले भनिन् ।