प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता
आजै स्वदेश फर्कने
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले बिहान ११ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
त्यसपछि बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ।
वार्तामा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माणलगायत विषयमा छलफल गर्ने तयारी छ।
द्विपक्षीय वार्तापछि प्रधानमन्त्री बालेन र मोदीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्नेछन्।
त्यस क्रममा दुवै देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्र आदानप्रदान हुनेछ। त्यसपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीले आजै दिउँसो प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री बालेनले दिउँसो भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भेटघाटका कार्यक्रम सकेर प्रधानमन्त्री शाह आजै अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्।

