लन्डन । नेपाल अहिले कमजोर आर्थिक शासन र ग्रामीण समुदायमा सीमित अवसरका कारण युवा पलायन र बेरोजगारीको गम्भीर समस्यामा छ । दैनिकजसो ३–४ हजार युवा विदेश पलायन भइरहेका छन् भने गत वर्ष मात्र १० लाख युवा बाहिरिएका थिए ।
यही पृष्ठभूमिमा गैरसरकारी संस्था ‘दायित्व’ ले महिला र युवा नेतृत्वमा आधारित उद्यमहरुलाई समर्थन गर्दै आर्थिक सुशासन र स्थानीय तहमा नवप्रवर्तनलाई अघि बढाइरहेको छ ।
सोमबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा ‘दायित्व’ का अध्यक्ष डा. पुकार मल्ल ले आफ्नो मिशनबारे जानकारी दिए । अमेरिकामा १७ वर्ष अध्ययन र काम गरी नेपाल फर्किएका मल्ल अहिले ‘मिसन आशा’ लिएर अन्तर्राष्ट्रिय दौडाहामा छन् । अमेरिका र क्यानडापछि उनी सहभागी भएको १६ औं शहर लन्डन हो ।
डा. मल्लले नेपाललाई आर्थिक समृद्धिको बाटोमा लैजान शासकीय सुधार अपरिहार्य रहेको बताए । उनले संघीयताले विविधता र विकेन्द्रीकरणलाई प्रभावकारी बनाएको उल्लेख गर्दै आफ्नो संस्थाले ग्रासरुट स्तरमा ११५ उद्यमलाई सहयोग गरेको र यसबाट करिब दुई लाख जनाले प्रत्यक्ष लाभ लिएको तथ्य प्रस्तुत गरे ।
उनले ग्रामीण रोजगारी सिर्जना र आर्थिक शासन सुदृढीकरणमार्फत युवामा आशा पुनर्स्थापित गर्न सकिने विश्वास व्यक्त गरे । साथै, केवल सरकारलाई दोष नदिई हरेक व्यक्तिले आफ्नै स्तरबाट योगदान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरूको जिज्ञासामा जवाफ दिँदै उनले विदेशमै करिअर बनाउन सक्ने अवसर हुँदाहुँदै पनि स्वदेशमै केही गर्न सकिन्छ भन्ने दृढताका साथ नेपाल फर्किएको बताए ।
डा. मल्ल विश्व बैंक, हार्वर्ड, इन्टेल र सिलिकन भ्याली स्टार्टअपमा अनुभव हासिल गरिसकेका छन् । उनले स्वार्थमोर कलेज, कर्नेल विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयबाट क्रमशः बीएससी, विद्यावारिधि र एमपीए गरेका छन् ।
कार्यक्रमको समापनमा नेपाली राजदूत चन्द्रकुमार घिमिरे ले डा. मल्लको प्रयासलाई उच्च प्रशंसा गर्दै युवाबाट अझ ठूलो योगदानको अपेक्षा रहेको बताए । कार्यक्रममा उपनियोग प्रमुख विपिन दुवाडीले स्वागत मन्तव्य दिएका थिए भने युवा व्यवसायी विकास नेपालले हल्का रिफ्रेसमेन्ट प्रायोजन गरेका थिए ।