लन्डन । खगोलविद्हरूले आइतबार राति दुर्लभ दृश्यको आनन्द लिने मौका पाउनेछन् । एसिया, युरोप र अफ्रिकाका विभिन्न भागमा देखिने यस पूर्ण चन्द्रग्रहणका क्रममा ‘ब्लड मुन’ उदाउनेछ ।
जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्छन्, पृथ्वीको छायाँले चन्द्रमामा परेर यसलाई डरलाग्दो गाढा रातो रङमा देखाउँछ । यो अद्भुत दृश्यले सहस्राब्दीयौँदेखि मानिसलाई आकर्षित गर्दै आएको छ ।
भारत र चीनसहित एसियाका मानिसहरू यस ग्रहण अवलोकनका लागि सबैभन्दा अनुकूल स्थानमा हुनेछन् । साथै, अफ्रिकाको पूर्वी किनार र पश्चिमी अस्ट्रेलियामा पनि ब्लड मुन देखिनेछ ।
पूर्ण चन्द्रग्रहण १७:३० जिएमटीदेखि १८:५२ जिएमटीसम्म रहनेछ । युरोप र अफ्रिकाका खगोलविद्हरूले चन्द्रमाको उदयसँगै आंशिक ग्रहण देख्ने मौका पाउनेछन् । तर अमेरिकाका दर्शकहरूले भने यसपटक ग्रहण गुमाउनेछन् ।
उत्तरी आयरल्यान्डको क्विन्स युनिभर्सिटी बेलफास्टका खगोलशास्त्री रायन मिलिगनका अनुसार चन्द्र ग्रहणको समयमा चन्द्रमा रातो देखिनुको कारण पृथ्वीको वायुमण्डल हो । उनले भने, “सूर्यको प्रकाश वायुमण्डलमा प्रतिबिम्बित र छरिएको हुन्छ । नीलो तरङ्ग आयाम छोटो भएकाले सजिलै फैलिन्छ, तर रातो तरङ्ग आयाम लामो भएकाले चन्द्रमा पुग्छ र यसलाई रक्तिम रङ दिन्छ ।”
सूर्य ग्रहणजस्तो विशेष चश्मा वा पिनहोल प्रोजेक्टरको आवश्यकता नपर्ने भएकाले चन्द्र ग्रहण हेर्न सजिलो हुन्छ । स्पष्ट मौसम र उपयुक्त स्थान भए पर्याप्त हुन्छ ।
यसअघि यस वर्ष मार्चमा पूर्ण चन्द्रग्रहण भएको थियो । त्यसअघि सन् २०२२ मा भएको थियो । आफूलाई ‘सूर्य ग्रहण चेजर’ भनी चिनाउने मिलिगनले आइतबारको घटना आउँदो वर्ष हुने ‘ठूलो घटना’ को प्रस्तावना भएको बताएका छन् ।
सन् २०२६ अगस्ट १२ मा युरोपको केही भागमा दुर्लभ पूर्ण सूर्यग्रहण देखिनेछ । त्यसबेला चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्नेछ ।
मिलिगनले पछिल्ला एक दशकमा संसारभर १२ वटा पूर्ण सूर्यग्रहणको अवलोकन गरेका छन् । आउँदो वर्षको पूर्ण ग्रहण स्पेन र आइसल्यान्डमा देखिनेछ । यो सन् २००६ पछि मुख्यभूमि युरोपमा पहिलो हुनेछ । अन्य मुलुकहरूले आंशिक ग्रहण देख्न सक्नेछन् ।
स्पेनमा, मेड्रिड र बार्सिलोना बीचको करिब एक सय ६० किलोमिटर (एक सय माइल) लामो क्षेत्रमा समग्रता देखिनेछ । तर यी दुवै सहरले पूर्ण घटना अवलोकन गर्न नपाउने मिलिगनले बताए । सन् २०२४ अप्रिलमा उत्तर अमेरिकामा भएको पूर्ण सूर्य ग्रहणपछि यो पहिलो पूर्ण सूर्य ग्रहण हुनेछ ।