काठमाडौँ । राजावादी अभियन्ता दुर्गा प्रसाईँले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् । राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ। यही संविधान जीवित राखेर जेन जेड आन्दोलनको औचित्य नरहने प्रसाईँले दाबी गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘संविधान यही ? संसद यही ? राष्ट्रपति यही ? व्यवस्था यही ? यदि सबै यही हो भने आन्दोलन किन गरियो ? ती कलिला बच्चाको हत्या किन भयो ? ५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो ? जेन–जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने ?’
संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता नदिएको र नयाँ संविधानमार्फतै नयाँ व्यवस्था जन्माएको प्रसाईँले तर्क गरेका छन् ।
उनी भन्छन्, ‘राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ । नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ । हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ ।’प्रसाईँले हिजो दिनभर प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा वार्ता गरेका थिए ।