८ आश्विन २०८२, बुधबार
Follow Us

नियम, कानुन र अनुशासन पूर्णरूपमा पालना गरौं : नेपाली राजदूतावास (यूएई)

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०८२, बुधबार ०५:०८

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावीस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो पेसा र व्यवसायप्रति इमान्दार, कर्तव्यनिष्ट रहन अनुरोध गरेको छ । दूतावासले सूचना जारी गर्दै आफू बसोवास गर्दै आएको मुलुक यूएईको नियम, कानुन, मूल्य मान्यता र अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो ।

“संयुक्त अरब इमिरेट्समा विभिन्न पेसा र व्यवसायमा कार्यरत रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैँ मर्यादित र अनुशासित भई आफ्नो पेसा–व्यवसायप्रति सबै इमान्दार, कर्तव्यनिष्ट रही आफू बसोबास गर्दै आएको मुलुक यूएईको नियम, कानुन, मूल्य मान्यता र अनुशासन पूर्ण रूपमा पालना गर्न नेपाली राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ,” दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

विगत केही समयदेखि यूएईमा रहेका कतिपय नेपालीहरू मादक पदार्थको सेवन तथा झैझगडा, बैंकिङ कसुर, आपसी नगदी लेनदेन र झैझगडा, लागुऔषध ओसारपसार, इमिरेट्स आइडीको दुरुपयोग, साइबर ब्युरो, अध्यागमन नियमको र ट्राफिक नियमको उल्लंघन लगायतका गतिविधिहरूमा परी प्रत्येक दिन समस्यामा पर्ने गरेको सूचना आफूहरूलाई आउने गरेको दूतावासले जनाएको छ ।

यी सबै विषयहरू यूएईको कानुन तथा नियमअनुसार दण्डनीय हुने हुँदा सचेत हुन तथा विशेष सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ ।

धेरै पढिएको