११ कार्तिक २०८२, मंगलवार
Follow Us

‘मोन्था’ चक्रवात २ दिनभित्र नेपाल प्रवेश गर्ने: कोसी र मधेसमा भारी वर्षाको सम्भावना

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०८२, मंगलवार १३:१३

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठुलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरी कोसी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उनले बताए । यसको प्रभाव बागमती प्रदेश र कोसी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना रहेको उनको भनाई छ । उनकाअनुसार चक्रवातको प्रभाव बिहीबार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिवार दिउँसो) सम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उनले जानकारी दिए ।

उनले भने ‘बङ्गालको खाडीमा ‘मोन्था’ नाम गरेको सामुन्द्रिक चक्रवात विकास भएको छ । त्यो चाहिँ बिस्तारै भारतको भूभागमा प्रवेश गरेको छ । विशाखपटनम क्षेत्रमा आजको दिनमा अवस्थित छ र यो अबको दुई दिनमा नेपाल प्रवेश गर्ने देखिन्छ । यो सामुन्द्रिक चक्रवातले समुन्द्री क्षेत्रबाट जुन जलवाष्पहरु लिएर आएको छ, त्यसले गर्दाखेरि नेपालको खासगरि कोसी प्रदेश र मधेस प्रदेशको क्षेत्रमा ठुलो वर्षको सम्भावना देखिएको छ भने बागमती प्रदेश र कोसी प्रदेशको हिमाली क्षेत्रमा पनि यसको प्रभाव फैलिनसक्ने, १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिवार दिउँसोसम्म करिब यसको प्रभाव रहने देखिन्छ । खासगरि हिमाली क्षेत्रको कुरा गर्दाखेरि यो माथिल्लो हिमाली क्षेत्रमा भारी हिमपातको पनि सम्भावना बागमती प्रदेश र कोसी प्रदेशको समग्र क्षेत्रमा देखिएको छ ।’

उनले हाल ठुला नदीहरूको बहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताए । बागमती र कोशीजस्ता ठुला नदीमा ठुला बाढी आउने जोखिम रहेको उनको भनाई छ । यद्यपि नदी सतह सतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन उनले आग्रह गरे ।

उनले मधेस र कोसी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा भने तीव्र बहावको सम्भावना रहेको बताए । १३ गते रातिदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन उनले आग्रह गरे ।

उनले भने ‘अब ठुला नदीहरूमा वाहवको अवस्था हाल सामान्य अवस्थामा रहेको, धेरै तल रहेको कारणले गर्दाखेरि यो करिब करिब २४/२५ घण्टासम्म सक्रिय रहनसक्ने प्रणालीले ठुलो बाढीको अवस्था बागमती, कोसी जस्ता ठुला नदीहरूमा पार्ने देखिँदैन । तर जल सतह उल्लेख्य बढ्ने सम्भावना छ । त्यसकारण सतर्कता तह आसपाससम्म पनि पुग्नसक्छ, नदी तटीय क्षेत्र सामान्य अवस्था भएको नदीहरूमा ठुलो बहाव आउँदाखेरि खतरा तहको बहाव नआएतापनि त्यसले जोखिम निम्त्याउने भयो । त्यसकारण सतर्कताको अपिल गर्दै हामीले प्रेस रिलिज पनि गर्दैछौँ । सँगै स–साना खोलाहरू जति पनि छन्, खासगरि मधेस प्रदेश र कोसी प्रदेशको । त्यसमा पनि पहाडी र चुरेको क्षेत्र भएर बहने स–साना खोला नालाहरूमा आकस्मिक बहाव, तीव्र बहावको सम्भावना देखिएको छ ।’

जल तथा मौसम विभाग प्रवक्ता विभूति पोखरेलले मंगलवार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिए । हिमपातको कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर गर्ने उनको भनाई छ । उनले पश्चिमी वायु साथै अरब सागरमा बनेको न्युनचापीय प्रणालीको प्रभावले गर्दा मङ्गलवारको बदली देखिएको बताए ।

बुधवारदेखि बिस्तारै यो सुधार हुँदै आउने उनको भनाई छ । बिहीबारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकोले नेपालको मौसम प्रभावित हुने उनले जानकारी दिए ।

धेरै पढिएको