काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर राजनीतिक सरगर्मी चुलिएको छ । नयाँ मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दलका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै विरोध प्रदर्शन गरेका छन् ।
बिहानैदेखि आन्दोलनकारीहरू मुख्यमन्त्री कार्यालयअगाडि भेला भएर नवनियुक्त मुख्यमन्त्री यादवविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले मुख्यमन्त्रीको आगमनमा अवरोध पुर्याउने प्रयास गरेका छन् ।
विरोध प्रदर्शनले उग्र रूप लिँदा आन्दोलनकारीहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । यसै क्रममा प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयसहित अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । यस नियुक्तिप्रति असन्तुष्ट रहेका सात दलले यसलाई असंवैधानिक भन्दै विरोध जनाएका छन् ।