काठमाडौं। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा (एमाले) ले शनिबार देशैभर प्रदर्शन गरेको छ।
संसद बिघटनबिरुद्ध एमालेले घोषणा गरेको जनपरिचालन कार्यक्रम अन्तर्गत शनिबार देशभरका जिल्ला तथा बिभिन्न शहरमा विरोध प्रदर्शनका साथै जनसभाको आयोजना गरिएको हो। यसैक्रममा नेकपा एमाले रुपन्देहीले बुटवलमा बृहत जनप्रदर्शन र सभा गरेको थियो।
प्रदर्शनमा देशैभरीबाट १५ लाख सहभागी रहेको नेकपा एमाले केन्द्रीय सदस्य डा. सूर्य पाठकले दावी गरेका छन् ।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताए। जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका छन्।
उनका अनुसार आजको जनसभामा महासचिव शंकर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरेका छन्। यसैगरी रूपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको बिर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरे।
एमालेले भदौ २३ र २४ मा ‘जेन(जी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उनले बताए।
यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला सम्पन्न गरिसकेको छ।

