लेखनाथ (कास्की) । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा मङ्सिर महिनाभित्रै गर्न केन्द्रलाई सिफारिस गरेको छ ।
गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय भेलाले सर्वसम्मत निर्णयसहित मङ्सिरभित्रै पार्टीको नियमित महाधिवेशन गर्न माग गर्दै केन्द्रलाई सिफारिस गरेको प्रवक्ता माधवप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । नियमित महाधिवेशन हुन नसकेमा पार्टी विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने निर्णयसमेत प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको उहाँले जानकारी दिनुभयो ।
प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भेलाले भदौ २३ र २४ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवा दम्पतीमाथि आक्रमणप्रति आपत्ति जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रदेश सभापति शुक्रराज शर्माले मुलुकको बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा गर्न आवश्यक भएको र नियमित नसकिए विशेष महाधिवेशनमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली जनतालाई साथमै लिएर कांग्रेसले आफ्नो सिद्धान्तलाई अगाडि सार्नुपर्ने भन्दै पार्टीले आफ्नो सिद्धान्त छाड्दा जनताबाट टाढा हुँदै गएको जिकिर गर्नुभयो । “जनतालाई मालिक मानेर सेवा गर्न कांग्रेसका नेता कार्यकर्ता लाग्नुपर्छ । त्यसका लागि महाधिवेशन हुनुपर्छ । नियमित महाधिवेशनले मात्र पार्टीलाई बलियो बनाउँछ”, सभापति शर्माले भन्नुभयो ।
—