२५ पुष २०८२, शुक्रबार
Follow Us

कांग्रेसको क्रियाशील सदस्यता : विवाद भएका जमसम्पर्क समितिमा सिधै केन्द्रले हेर्ने

नेपालब्रिटेन संवाददाता
२ पुष २०८२, बुधबार १३:२९

काठमाडौँ । कांग्रेसको जनसम्पर्क समितिमा भएको क्रियाशील सदस्यतासम्बन्धी विवाद सिधै केन्द्रले हेर्ने भएको छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले धेरै विवाद भएका क्यानडा, बेलायत र अस्ट्रेलियाको विवाद केन्द्रले नै हेर्ने निर्णय गरेको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।

‘सदस्यतासम्बन्धी समस्या क्यानडा, अस्ट्रेलिया र बेलायतको जनसम्पर्क समितिमा धेरै भयो। यसलाई केन्द्रीय सदस्यता व्यवस्थान समितिले नै सहजीकरण गर्ने निर्णय आजको बैठकले गरेको छ,’ उनले भने ।

बैठकले क्यानडा योगेन्द्र चौधरी, बेलायत सीता गुरुङ र अस्ट्रेलिया रसाइलीले हेर्ने निर्णय गरेको छ । त्यस्तै उनले नयाँ क्रियाशील सदस्यताको क्रमसंख्यासहितको फारम पनि पठाउन थालिएको बताए । यसअघि क्रमसंख्या नभएका फारम जिल्लामा पठाएपछि विवाद भएपछि त्यसलाई स्थगित गरेर नयाँ फारम पठाइएको हो ।

रसाइलीले क्रियाशीलको विषयलाई वडा, पालिकासहित सबैलाई जिल्लामै टुंग्याएर पठाउन निर्देशन दिइएको पनि बताए । यी विषयमा जिल्लामा नटुंगिँदासम्म केन्द्रले स्वीकृत नगर्ने विषयमा पनि छलफल भएको उनको भनाइ थियो ।

क्रियाशील सदस्यता नयाँ र पुरानोको विवरण प्रवृष्ट गर्ने काम सुरु भएको उनको भनाइ छ । त्यसका लागि जनशक्ति थपेर काम गर्न लागिएको रसाइलीले बताए ।

धेरै पढिएको